काठमाडाैं– चुमनुब्री गाउँपालिकाले आफ्नो दुर्गम भौगोलिक अवस्था तथा विकास निर्माणका चुनौतीलाई दृष्टिगत गर्दै संघीय सरकारसँग विभिन्न पूर्वाधार तथा विकास योजनाका लागि विशेष माग गरेको छ।
गाउँपालिकाका अध्यक्ष निमा लामाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्दै गाउँपालिकाको भौगोलिक विकटता, यातायात पहुँचको अभाव तथा कठिन भू-भागका कारण विकास निर्माणका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाउन कठिनाइ भइरहेको विषय अवगत गराएका हुन् ।
पत्रमा गोरखा जिल्लाको करिब ३६ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा रहेको उक्त गाउँपालिकामा हालसम्म सडक सञ्जालको पर्याप्त विस्तार हुन नसकेको उल्लेख गरिएको छ। साथै, विकासका लागि आवश्यक बजेट जनसंख्याको आधारमा मात्र वितरण हुँदा वास्तविक आवश्यकता सम्बोधन हुन नसकेको पनि जनाइएको छ।
गाउँपालिकाले विशेषगरी तीन प्रमुख योजनालाई प्राथमिकतामा राख्दै संघीय सरकारसँग सहयोग माग गरेको छ। जसअन्तर्गत सिद्धिबास–छेकम्पार–छुम्चेत हुँदै भञ्ज्याङसम्म मोटरबाटो निर्माणलाई तीव्रता दिने, बेनिघाट–लार्के सडकअन्तर्गत लार्के खण्डको निर्माणलाई प्राथमिकता दिने तथा गाउँपालिका केन्द्र जोड्न बुढीगण्डकी नदीमा मोटरेबल पुल निर्माणका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
यसका साथै, कठिन भूगोलका कारण निर्माण कार्यमा अत्यधिक लागत लाग्ने भएकाले नेपाली सेना मार्फत सडक निर्माण कार्य अघि बढाउनसमेत सुझाव दिइएको छ।
गाउँपालिकाले पर्यटनको उच्च सम्भावना रहेको क्षेत्र भएकाले पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै आवश्यक नीति, योजना तथा बजेट व्यवस्थापनका लागि पहल गरिदिन संघीय सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया