+
Search

ताजा अपडेट +

पपुलर +

दूधमा अनुदानदेखि बालमैत्री नगरपालिका घाेषणा गर्ने लक्ष्य

७९ करोड ७९ लाखको बजेट ल्यायो पालुङटार नगरपालिका

नगरपालिकाले २०८३ चैतभित्र पालुङटारलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य समेत लिएको छ। यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

पालिका लाइभ
२०८३ असार ९, मंगलवार

गोरखा- पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट ल्याएको छ।

नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख वन्दना पाण्डेले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुशासन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ।

प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र राजस्व बाँडफाँटबाट ६५ करोड २० लाख ३४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी गण्डकी प्रदेश सरकारबाट ४ करोड ६७ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने ६ करोड रुपैयाँ मौज्दात रकम पनि बजेटमा समावेश गरिएको छ।

नगरपालिकाले आगामी वर्ष कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। कृषि उत्पादनको बजारीकरण, कृषि एम्बुलेन्स सञ्चालन, सुन्तला तथा रैथाने बाली प्रवर्द्धन, भूमि बैंक स्थापना तथा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। किसानलाई दूध उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रमा ३१ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। एसईई लक्षित छात्रावास कार्यक्रम, नगरस्तरीय परीक्षा सञ्चालन, विद्यार्थी दुर्घटना बीमा, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

त्यसैगरी स्वास्थ्य क्षेत्रका लागि ८ करोड ९७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। गाईखुर स्वास्थ्य चौकीलाई नगरस्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने, निःशुल्क औषधि वितरणलाई निरन्तरता दिने, विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा गरिब बिरामीसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था बजेटमा गरिएको छ।

नगरपालिकाले २०८३ चैतभित्र पालुङटारलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य समेत लिएको छ। यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने नारासहित प्रस्तुत बजेटले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र दिगो पूर्वाधार निर्माणमार्फत नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ