+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपासँग सुशासनको एजेन्डामा सहकार्य गर्न तयार छौँ- वर्षमान पुन

पालिका लाइभ
२०८३ असार ७, आईतवार

काठमाडाैं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको भन्दै यस्ता विषयमा रास्वपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुनले नेपाली राजनीतिक परिवर्तनको यात्रा सहज नभएको उल्लेख गर्दै लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए ।

‘नेपाली परिवर्तनको कथा सहज छैन । लामो संघर्षपछि यो अवसर प्राप्त भएको हो’, उनले भने । पुनले माओवादी केन्द्र र रास्वपा दुवै स्थापित राजनीतिक निरन्तरताको क्रमभङ्ग गर्दै उदाएका शक्तिहरू भएको उल्लेख गरे । ‘निरन्तरतालाई क्रमभङ्ग गरेर आएका दुवै शक्ति हौं । दुवै सङ्घर्षको बलमा स्थापित भएका हौं’, उनले भने।

उनले सुशासन, पारदर्शिता र राज्य सञ्चालनमा विधिको शासन स्थापित गर्ने विषयमा दुवै दलबीच समान दृष्टिकोण रहेको बताउँदै यस्ता एजेन्डामा सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

‘सुशासनको एजेन्डा दुवैका बीचमा मिल्छन् । सुशासन, पारदर्शिता र थिति बसाउन हामी रास्वपासँगै रहने प्रतिबद्धता व्यक्त गर्छौं’, पुनले भने । उनले राजनीतिक परिवर्तन र सुधारका नाममा संविधानभन्दा बाहिर जान नहुने पनि उल्लेख गरे । प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधानको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा र सुधारका प्रयास अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

‘संविधानभन्दा बाहिर जानु हुँदैन’, उनले भने, ‘लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै परिवर्तनका एजेन्डालाई संस्थागत गर्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ