चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधि, नीति र संस्थागत प्रणालीमा आधारित सरकार सञ्चालन गर्ने लक्ष्यका साथ आफूहरू राजनीतिमा आएको बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापना गर्न आफ्नो पार्टी उदाएको बताए । उनले मुलुकमा जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको आवश्यकता रहेको उल्लेख गरे ।
‘हामी पुरानो पुस्तासँग लड्न आएका होइनौँ, नयाँ राजनीतिक संस्कार कायम गर्न आएका हौँ’, उनले भने, ‘राजनीतिलाई व्यक्ति केन्द्रित होइन, विधि र नीतिमा आधारित बनाउन चाहन्छौँ ।’
वाग्लेले नयाँ पुस्ताले केवल विरोध गर्न मात्र नसक्ने, देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए । उनले युवापुस्ताको ऊर्जा, सीप र सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले नेपाललाई सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारको बाटोमा अघि बढाउन रास्वपाले राजनीतिक रूपान्तरणको अभियान अघि सारेको उल्लेख गर्दै मुलुकलाई नयाँ दिशा दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।
‘हामी केवल विरोधको राजनीति गर्न आएका होइनौँ, मुलुकलाई रूपान्तरण गर्ने जिम्मेवारी पनि लिन तयार छौँ, वाग्लेले भने ।
उनले राजनीतिक परिवर्तनसँगै शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह र विकासको सोचमा समेत रूपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे ।
प्रतिक्रिया