+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा, स्वास्थ्य, सडक र कृषिमा जोड दिँदै बारपाक सुलिकोटले ल्यायो ६६ करोडको बजेट

पालिका लाइभ
२०८३ असार १३, शनिबार

गोरखा- बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ करोड २८ लाख ६८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ।

दिगो, समावेशी र परिणाममुखी विकासको लक्ष्यसहित गाउँपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याएकाे हाे।

कुल विनियोजित बजेटमध्ये सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४९.८१ प्रतिशत बजेट छुट्याइएको छ। त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १९.४३ प्रतिशत, सडक पूर्वाधारतर्फ १७.५६ प्रतिशत, संस्थागत विकास तथा सुशासनतर्फ ७.९० प्रतिशत, आर्थिक विकासतर्फ ४.७८ प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ०.५२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रका लागि २ करोड ३५ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिकाभित्र विद्यालय तहको शिक्षा अनिवार्य तथा निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। ई–लर्निङ, डिजिटल कक्षा तथा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास गरिनेछ भने बराम, दलित र भुजेल समुदायका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य क्षेत्रका लागि १ करोड ८४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। ‘शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल’ भवन निर्माण सम्पन्न भई आंशिक रूपमा सेवा सञ्चालनमा आएको भन्दै आगामी आर्थिक वर्षदेखि एमडीजीपी डाक्टरसहित दक्ष स्वास्थ्य जनशक्तिमार्फत गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

गर्भवती महिलाको पोषण सुधारका लागि सञ्चालन गरिएको ‘बारपाक सुलिकोटको चेलीः उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ। पूर्वाधारतर्फ सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। हालसम्म गाउँपालिका क्षेत्रमा २९ किलोमिटर कालोपत्रे सडक, २ दशमलव ८७ किलोमिटर ढलान सडक र ९.७० किलोमिटर सडक ग्राभेल निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

आगामी आर्थिक वर्षमा हुन्डीफाँट–सिलागफुफा–काफलडाँडा–सिरान्थर सडक कालोपत्रे गर्ने योजना अघि सारिएको छ। जराङ खोलामा निर्माणाधीन मोटरेबल पुल पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।

कृषि विकासका लागि ३८ लाख ५० हजार रुपैयाँ र पशुसेवा क्षेत्रका लागि ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषकको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले ५० प्रतिशत लागत साझेदारीमा हातेट्र्याक्टर वितरण तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

हुन्डीफाँटमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।

सामाजिक विकासतर्फ चालु आर्थिक वर्षमा ४ हजार ११४ जना सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण गरिएको र १२ करोड ६२ लाख ४ हजार ३४७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी ६४५ जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन् भने शल्यक्रियासहितको निःशुल्क आँखा शिविरबाट ८१५ जना नागरिक लाभान्वित भएका छन्।

वित्तीय अनुशासनतर्फ समेत गाउँपालिकाले सुधार गरेको जनाएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार जिल्लामै न्यून बेरुजु कायम गर्न सफल भएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ