+
Search

ताजा अपडेट +

पपुलर +

दुईपटक मेयरको कुर्सी खाली, दुवैपटक भाग्यमानी परनियालाई जिम्मेवारी

शुक्रवार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, समावेशिता र भेदभावरहित सेवा प्रवाहलाई आधार बनाएर नगरपालिकाको काम अघि बढाउने प्रतिबद्धता जनाइन्।

पालिका लाइभ
२०८३ श्रावण ३०, शनिबार

रौतहट– देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दुई कार्यकालमा उपप्रमुखमा निर्वाचित हुँदै दुवैपटक कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित पटेल पहिलो कार्यकालमा नगरप्रमुख निलम्बनमा परेपछि र दोस्रो कार्यकालमा नगरप्रमुख दल परिवर्तनका कारण पदमुक्त भएपछि कार्यवाहक नगरप्रमुख बनेकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा पटेल नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्। त्यतिबेला धर्मेन्द्र पटेल नगरप्रमुखमा निर्वाचित भएका थिए। तर २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा नगरप्रमुख पटेललाई पक्राउ गरेपछि नगरपालिकाको नेतृत्व संकटमा परेको थियो।

उपभोक्तामार्फत निर्माण भएको भवनको अन्तिम भुक्तानी दिने क्रममा घुस मागेको आरोपमा उनलाई नगद तथा चेकसहित पक्राउ गरिएको अख्तियारले जनाएको थियो। विशेष अदालतबाट धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम किनारा नलागेका कारण उनी निलम्बनमै रहे। त्यसपछि तत्कालीन उपप्रमुख परनिया देवी पटेलले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालिन्।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि पटेल उपप्रमुखमै निर्वाचित भइन्। यसपटक भने उनले नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन्। नगरप्रमुखमा एमालेका प्रेमलाल साह कानु निर्वाचित भएका थिए।

तर कार्यकालकै बीचमा साहले एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा आबद्ध भए। दल परिवर्तन गरेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएपछि आयोगले राजनीतिक दलसम्बन्धी प्रचलित कानुनअनुसार नगरप्रमुख साह कानु र देवाही गोनाही नगरपालिका–४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो।

आयोगले २०८३ साउन १५ गते उनीहरू पदमुक्त भएको औपचारिक जानकारी गराएपछि देवाही गोनाहीको नगरप्रमुख पद पुनः रिक्त भयो। त्यसपछि दोस्रो कार्यकालमा पनि उपप्रमुख पटेलकै काँधमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी आएको हो।

दुई फरक निर्वाचन र दुई फरक कार्यकालमा नगरप्रमुखको पद रिक्त हुँदा दुवैपटक उपप्रमुखकै हातमा नगरको कार्यकारी नेतृत्व पुग्नु गोनाहीको स्थानीय राजनीतिमा असामान्य संयोग बनेको छ। पहिलोपटक नगरप्रमुख अख्तियारको कारबाहीपछि निलम्बनमा परे भने दोस्रोपटक दल परिवर्तनका कारण पदमुक्त भए।

यसरी दुईपटक उपप्रमुखमा निर्वाचित पटेलले दुवैपटक नगरप्रमुखको कार्यभार सम्हाल्ने अवसर पाएकी छन्। स्थानीय तहमा उपप्रमुखको भूमिका कतिपय अवस्थामा प्रमुखको छायामा सीमित हुने चर्चा भइरहेका बेला पटेलको राजनीतिक यात्रा भने त्यसको विपरीत देखिएको छ।

शुक्रवार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, समावेशिता र भेदभावरहित सेवा प्रवाहलाई आधार बनाएर नगरपालिकाको काम अघि बढाउने प्रतिबद्धता जनाइन्।

उनले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा कुनै राजनीतिक दल वा समूहप्रति भेदभाव नगरी सबैको साथ र सहयोगमा काम गर्ने बताइन्। नगरपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र स्थानीयवासीबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले नगरवासीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ