+
Search

ताजा अपडेट +

पपुलर +

इन्भेस्टमेन्ट मेगा बैंकले भन्यो- मुद्दा दायरले बैंकको कार्यसम्पादनमा असर पर्दैन

पालिका लाइभ
२०८३ श्रावण २९, शुक्रबार

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारबाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो घटनाका सन्दर्भमा बैंकले नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको र नहुने स्पष्ट पारेको छ । बैंकको नेतृत्व तथा व्यवस्थापक यथावत् रहेको पनि उसले स्पष्ट पारेको छ ।

‘संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौँ’ बैंकले एक विज्ञप्ति जारी गरी भनेको छ ।

बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न आवश्यक समन्वय तथा सहयोग गरिदिन पनि बैंकले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले अनुरोध गरेको छ । ‘निक्षेपकर्ता, ग्राहक, सेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वास प्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ’ बैंकले भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ