गोरखा– पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी मैत्री, सहयोग र दिगो विकासका क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित दुई नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
पालुङटार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक विकास तथा सामाजिक विकासका क्षेत्रमा सहकार्य गर्ने भएका छन्।
समझदारीअनुसार दुवै स्थानीय तहले एकअर्काका सफल अभ्यास, अनुभव र प्रविधि आदान–प्रदान गर्नेछन्। त्यस्तै जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, योजना तथा नीति निर्माणसम्बन्धी ज्ञान साझेदारी, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्बन्ध विस्तारमा समेत सहकार्य गरिने जनाइएको छ।

भगिनी सम्बन्धअन्तर्गत टोखा नगरपालिकाले पालुङटार नगरपालिका–५ मा पूर्वाधार निर्माण तथा सहकार्यका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै पालुङटारका स्थानीय उत्पादन, विशेषगरी रैथाने उत्पादनको प्रवर्द्धन र टोखासहितका बजार क्षेत्रमा बजारीकरणका लागि सहयोग गर्ने विषयसमेत समझदारीमा समेटिएको छ।
कार्यक्रममा पालुङटारका नगर प्रमुख चिन्तनले स्थानीय तहबीचको सहकार्यले विकासका नयाँ सम्भावना खोल्ने बताए। उनले दुई नगरबीचको अनुभव, स्रोत र क्षमताको साझेदारीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने धारणा राखे।
टोखाका नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय तहबीचको सहकार्य अहिलेको आवश्यकता भएको बताए। उनले दुई नगरबीचको सम्बन्धले विकास, पर्यटन, संस्कृति र आर्थिक गतिविधिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
दुई नगरबीचको सम्बन्ध स्थापनाको एउटा रोचक पक्षका रूपमा पालुङटारका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको विगतको कार्यअनुभव पनि जोडिएको छ। उनी यसअघि टोखामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।
टोखासँगको उनको प्रशासनिक अनुभवले दुई स्थानीय तहबीचको सहकार्यलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको पालुङटार र काठमाडौं उपत्यकाको महत्त्वपूर्ण नगर टोखाबीचको यो सम्बन्धले स्थानीय विकास, पर्यटन प्रवर्द्धन, उत्पादनको बजारीकरण र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया