+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरिम आदेश नपाएपछि बीवाईडीले बुझायो भन्सारले निर्धारण गरेको १९ करोड २७ लाख

पालिका लाइभ
२०८३ भाद्र ८, सोमबार

काठमाडौं– विद्युतीय सवारीसाधनको भन्सार जाँचपासमा अनियमितता देखिएपछि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिबाट १९ करोड २७ लाख १७ हजार २५ रुपैयाँ असुल भएको छ। कम्पनीले रसुवा भन्सार कार्यालयमा उक्त रकम दाखिला गरेको हो।

रसुवा भन्सार कार्यालयबाट आयात गरिएका बीवाईडीका सवारीसाधनको जाँचपास प्रक्रियामा भन्सार छली भएको पाइएपछि कार्यालयले छुट रकम दाखिला गर्न कम्पनीलाई पत्राचार गरेको थियो। भन्सार कार्यालयको पत्रअनुसार कम्पनीले रकम दाखिला गरेको भन्सार स्रोतले जनाएको छ।

भन्सार छानबिनका क्रममा सवारीसाधन भौतिक रूपमा भन्सार यार्डमा आइपुग्नुअघि नै कागजातका आधारमा जाँचपास गरिएको भेटिएको थियो। त्यसरी सवारीसाधन भौतिक रूपमा उपस्थित नभई कागजी प्रक्रियाबाटै जाँचपास गरिँदा सरकारलाई प्राप्त हुनुपर्ने राजस्वमा कमी आएको थियो।

यस विषयमा अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। समितिले रसुवा पुगेर स्थलगत अध्ययन तथा अनुसन्धान गर्दा सवारीसाधन भन्सारमा भौतिक रूपमा आइनपुग्दै कागजातका आधारमा जाँचपास गरिएको तथ्य फेला पारेको थियो। त्यसपछि रसुवा भन्सार कार्यालयका प्रमुखसहित १३ जना कर्मचारी निलम्बनमा परेका थिए।

रसुवा भन्सारबाट बीवाईडीका एट्टो वान र सिलायन सेभेनलगायतका सवारीसाधन ठूलो संख्यामा जाँचपास भएका थिए। जेठ महिनामा मात्रै रसुवा भन्सारबाट बीवाईडीका १ हजार ३ सय ९६ वटा सवारीसाधन जाँचपास भएको विवरण सार्वजनिक भएको थियो। त्यसमध्ये पछिल्लो दुई सातामा मात्रै १ हजार १ सयभन्दा बढी सवारीसाधन जाँचपास भएको देखिएपछि भन्सार प्रक्रियामाथि प्रश्न उठेको थियो।

भन्सार कार्यालयले गत असार १९ गते बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिलाई पत्र पठाउँदै छुट रकम दाखिला गरेर मात्र रोकिएका सवारीसाधन छुटाएर लैजान भनेको थियो।

भन्सारले माग गरेको रकमविरुद्ध साइमेक्सकी सञ्चालक यमुना श्रेष्ठ असार ३१ गते उच्च अदालत पाटन पुगेकी थिइन्। उनले भन्सार कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेकी थिइन्। तर न्यायाधीशद्वय स्वीकृति पराजुली र अच्युत कुइँकेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कम्पनीले भन्सारले निर्धारण गरेको रकम दाखिला गरेको हो।

यसअघि रोकिएका सवारीसाधन छुटाउन साइमेक्सले मुस्ताङको कोराला भन्सारबाट रोकिएका गाडी फुकुवा गरिएको नजिरसमेत अदालतमा प्रस्तुत गरेको थियो। तर रसुवा भन्सारको हकमा भने भन्सार कार्यालयले छुट रकम दाखिला गर्नुपर्ने अडान राखेको थियो।

भन्सार विभागको पत्रअनुसार कम्पनीले गत शुक्रवार रसुवा भन्सार कार्यालयमा १९ करोड २७ लाख १७ हजार २५ रुपैयाँ दाखिला गरेको हो। यस प्रकरणमा सवारीसाधन भन्सारमा भौतिक रूपमा उपस्थित हुनुअघि नै कागजातका आधारमा जाँचपास गरिएको विषय मुख्य रूपमा देखिएको छ। त्यसैका आधारमा भन्सार कार्यालयले छुट रकम निर्धारण गरी असुल गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ