+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

पालिका लाइभ
२०८३ भाद्र २, मंगलवार

काठमाडौं– कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी इन्सेन्टिभ प्रोग्राम (प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

बैंकका अनुसार यस सुविधा मार्फत बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनु मार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्ने बैंकले जनाएको छ ।

यसले ग्राहकलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकले कर कट्टी पश्चात १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

बैंकले ग्राहकलाई व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ