काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद विगतमा हाँसी हाँसी अस्वीकार गरिदिएको दाबी गरेका छन् । त्यसबेला भावी आन्दोलन र जनताको आशालाई निभ्न नदिन यो त्याग गरेको उनको भनाइ छ ।
आज आयोजित रास्वपाको नीति, संगठन र नेतृत्व कार्यक्रमको पहिलो शृङ्खलामा बोल्दै लामिछानेले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा आफूलाई सो अफर आएको बताएका हुन् ।
उनले भने, ‘२१ सिटको दलको नेता हुँदा मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएकै हो । हुन चाहेको भए गाह्रो थिएन । त्यतिबेला एउटै कुरा दिमागमा आयो, यत्रो आन्दोलन र जनताको यत्रो आशा कहाँ जान्छ ? दुई-चार महिना, ६ महिना प्रधानमन्त्री बन्थेँ होला । सिंहदरबारमा तस्बिर झुन्ड्याउँथे होला । तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो । मसँग यसलाई रोक्ने अधिकार थिएन । यही महसुस गरेर किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो ।’
उनले थपे, ‘मैले यसलाई ठुलो गर्वको विषय बनाएको होइन । केवल इतिहासको पानामा दर्ज गर्न खोजेको हो । मैले ‘त्यागी’को उपाधि पाउने लोभले भनेको होइन । यति प्रतिबद्धता चाहिँ चाहिन्छ भनेको हो ।’
प्रतिक्रिया