काठमाडाैं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छिन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन् ।
‘तपाईंहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ’, मन्त्री रावलले भनिन्, ‘यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।’
उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताइन् ।
अहिलेको कानुनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुमवासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो ।
‘देशैभरका सुकुमवासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अड्चन छन्,’ उनले भनिन्, ‘सुकुमवासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौँ ।’
सरकारले भूमिहीन सुकुमवासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताइन् ।
‘तपाईंहरू बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन’, उनले भनिन्, ‘तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरूलाई लालपुर्जा दिन्छ ।’ उनले सुकुमवासीलाई अफवाहमा नलाग्नसमेत आग्रह गरिन् ।
मन्त्री रावलले आज बिहानैदेखि कञ्चनपुरका विभिन्न पालिकामा पुगेर भूमिहीन सुकुमवासीसँग अन्तरक्रिया गरेकी थिइन् ।
दोधारा–चाँदनी नगरपालिका, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका भूमिहीन सुकुमवासीलाई भेट्दै सरकारले छिट्टै लालपुर्जा दिने उनले बताइन् ।
त्यसैगरी, मन्त्री रावलले आजै महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरिन् ।
प्रतिक्रिया