+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

पालिका लाइभ
२०८३ भाद्र ३, बुधबार

काठमाडाैं– कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ। एनएमबी बैंक लिमिटेडको नेतृत्वमा आयोजनाका लागि ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो।

कालिकोटको तिला खोलामा एसएससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४ करोड रुपैयाँ छ। त्यसमध्ये बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्नेछन्।

आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अग्रणी बैंक (लिड बैंक) का रूपमा रहेको छ। ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अग्रणी बैंक (को–लिड बैंक) का रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा सहभागी भएका छन्।

आयोजनाको कुल जडित क्षमता ४४० मेगावाट छ। विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले ०८७ पुस १५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्नुपर्नेछ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एसएससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

निजी क्षेत्रको लगानी तथा नेतृत्वमा निर्माण हुन लागेको यो आयोजना जडित क्षमताका आधारमा नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक हो। आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

एनएमबी बैंकले आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकनसमेत गरिएको जनाएको छ। बैंकका अनुसार हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) ले विकास गरेको ‘हाइड्रोसेलेक्ट टुल’ प्रयोग गरी आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी प्रारम्भिक मूल्यांकन गरिएको हो।

एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ