काठमाडौं– सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरुवा हुनेमा नेपाल प्रशासन सेवाका अधिकांश सहसचिव छन्। त्यसबाहेक नेपाल कृषि सेवा र नेपाल इन्जिनियरिङ सेवाका सहसचिव पनि सरुवा सूचीमा छन्। सरकारले जारी गरेको विवरणअनुसार २७ जना सहसचिव वा सोसरहका कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो।
सरुवाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा लगिएको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कार्यरत गोविन्दप्रसाद अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका रुद्रप्रसाद पण्डितलाई रक्षा मन्त्रालयमा पठाइएको छ।
लुम्बिनी प्रदेशमा प्रदेश सचिवका रूपमा कार्यरत युगराज पाण्डेलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत केशवराज सुवेदीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ भने नवराज ढकाललाई युवा, श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत संगीता ओझालाई सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ। कोशी प्रदेशमा प्रदेश सचिव रहेका विष्णुप्रसाद कोइरालालाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएको छ। बागमती प्रदेशमा कार्यरत तुलसीनाथ गौतमलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगिएको छ।
नेपाल कृषि सेवाका संजीवकुमार कर्णलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै बागमती प्रदेशमा कार्यरत हेमराज भुसाललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। मधेश प्रदेशका जयकुमार घिमिरेलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
लुम्बिनी प्रदेशमा कार्यरत नारद गौतमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका बाबुराम भण्डारीलाई रक्षा मन्त्रालयमा पठाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत नीता शर्मालाई कोशी प्रदेशको प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ। लगानी बोर्डको कार्यालयमा कार्यरत सुनिता नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कार्यरत दिवस आचार्यलाई कोशी प्रदेशको प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रामबहादुर कुरुवाङलाई कर्णाली प्रदेशको प्रदेश सचिवका रूपमा कामकाजमा पठाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत हेमराज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
इन्जिनियरिङ सेवातर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत पद्मकुमार मैनालीलाई पूर्वाधार विकास मन्त्रालयमा र पूर्वाधार विकास मन्त्रालयमा कार्यरत रामहरि पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत हुमकला पाण्डेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा र सोही मन्त्रालयका वेदप्रसाद खरेललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
कर्णाली प्रदेशमा प्रदेश सचिवका रूपमा कार्यरत विपीन आचार्यलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नारायणप्रसाद रेग्मीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा पठाइएको छ।
यसैगरी राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेन्द्रदेव पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
प्रतिक्रिया