+
Search

ताजा अपडेट +

पपुलर +

२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल खोजी र डिजिटलाइज गर्दै विभाग

मन्त्री रामजी यादवको विशेष चासो र महानिर्देशक मिरा आचार्यको नेतृत्वमा मुद्दा अनुसन्धानलाई उच्च प्राथमिकता

पालिका लाइभ
२०८३ असार १४, आईतवार

काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि वैदेशिक रोजगार विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धानसम्बन्धी फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका ठगी तथा अनियमितताका घटनासँग सम्बन्धित उजुरी र मुद्दाहरूलाई प्रभावकारी रूपमा टुंगोमा पुर्‍याउने उद्देश्यसहित विभागले लामो समयदेखि बेवारिसे अवस्थामा रहेका अभिलेखहरूको पुनः व्यवस्थापन सुरु गरेको हो।

०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि वैदेशिक रोजगारसम्बन्धी विषयहरू श्रम प्रशासनको महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास हुँदै आएका थिए। त्यसपछि ०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएपछि वैदेशिक रोजगारीका क्रममा समस्या भोगेका नेपाली श्रमिकहरूले आफ्ना उजुरीहरू सम्बन्धित निकायमा दर्ता गर्दै आएका थिए।

०६४ सालमा वैदेशिक रोजगार विभाग स्थापना भएपछि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम कारबाही विभागमार्फत सञ्चालन हुन थालेको हो। विभागको जिम्मेवारीमध्ये वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा तथा अनुसन्धान कार्य प्रमुख क्षेत्रका रूपमा रहँदै आएको छ।

पछिल्लो समय वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी र गुनासाहरू बढ्दै गएपछि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धान प्रक्रियालाई उच्च प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा काम गर्न विभागलाई निर्देशन दिँदै आएका छन्।

मन्त्री यादवको विशेष चासो र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा विभागले लामो समयदेखि थन्किएका मुद्दा तथा अनुसन्धानका फायलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने अभियान अघि बढाएको हो।

अभिलेख व्यवस्थापनका क्रममा विभागले ०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण फायलहरू समेत फेला पारेको जनाएको छ। वर्षौँदेखि भण्डारण कक्षमा थन्किएका हजारौँ फायलहरू खोजी गरी वर्षअनुसार वर्गीकरण गर्ने तथा सुरक्षित रूपमा राख्ने काम सम्पन्न गरिएको विभागको भनाइ छ।

विभागका अनुसार फेला परेका सबै फायलहरूको विवरण संकलन गरी भौतिक अभिलेख व्यवस्थापनसँगै डिजिटल अभिलेख निर्माणको प्रक्रिया सुरु गरिएको छ। हाल पुराना फायलहरू स्क्यान गरी डिजिटल प्रतिलिपि तयार गर्ने काम तीव्र गतिमा भइरहेको छ।

आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी विभागले गरेको छ। यस प्रणालीमार्फत मुद्दाको अवस्था, प्रगति र निर्णय प्रक्रियाको अनुगमन सहज हुने अपेक्षा गरिएको छ।

०५७ सालदेखिका उपलब्ध सबै मुद्दा तथा अनुसन्धानसम्बन्धी विवरणलाई डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग जोड्ने विभागको योजना रहेको छ।

लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितहरूलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन अभिलेख व्यवस्थापन तथा डिजिटलाइजेसन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विभागको विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ