+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिकाले ल्यायो ४७ करोडको बजेट

कृषि, पर्यटन र पूर्वाधारमा जोड, चालु वर्षको खर्च प्रगति ६६ प्रतिशत

पालिका लाइभ
२०८३ असार १३, शनिबार

गोरखा– अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष अनिता भुजेलले बुधवार गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।

‘कृषि, पर्यटन र ऊर्जामा जोड : समृद्ध, सुखी हाम्रो अजिरकोट’ भन्ने दीर्घ सोचलाई आत्मसात गर्दै गाउँपालिकाले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।

कुल बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड २८ लाख ७१ हजार रुपैयाँ अर्थात् ६८ दशमलव ६९ प्रतिशत र पुँजीगत खर्चतर्फ १४ करोड ७१ लाख ५७ हजार रुपैयाँ अर्थात् ३१ दशमलव ३१ प्रतिशत विनियोजन गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक आयलाई बजेटको मुख्य स्रोतका रूपमा लिएको छ। सीमित स्रोतसाधनबीच नागरिकका आवश्यकता सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

पूर्वाधार विकासतर्फ सडक, खानेपानी, भवन, ऊर्जा तथा सञ्चार क्षेत्रका लागि ४ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिँदै वडा नं. १ को घ्याच्चोक–बाँसकोट–ततुदेवेश्वरा सडक स्तरोन्नतिका लागि संघ सरकार र गाउँपालिकाको साझेदारीमा १ करोड ४० लाख रुपैयाँ तथा वडा नं. ५ को कुसुण्डे–मादले–फाल्पु सडक स्तरोन्नतिका लागि प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा १ करोड रुपैयाँ छुटाइएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले १ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। ‘हाम्रो जात, हाम्रो गौरव’ अभियानमार्फत रैथाने बाली, स्थानीय पशुपन्छी जातको संरक्षण तथा प्रवर्द्धन गरिने गाउँपालिकाले जनाएको छ। कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, कृषि यान्त्रिकीकरण, बजारीकरण तथा किसानको क्षमता विकासमा समेत बजेट केन्द्रित गरेको गाउँपालिकाले जनाएको छ।

पशुपालन क्षेत्रको विकासका लागि ५१ लाख रुपैयाँ र पर्यटन प्रवर्द्धनका लागि ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। सिरानडाँडा, नागेपोखरी, दूधपोखरीलगायत प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

रोजगारी तथा उद्यमशीलता विकासका लागि स्थानीय सीप, स्रोत र सम्भावनामा आधारित कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। सीप विकास, उद्यम स्थापना सहयोग, स्थानीय उत्पादनको प्रशोधन तथा बजारीकरणमार्फत स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सामाजिक विकासतर्फ शिक्षा क्षेत्रमा २ करोड ५० लाख ३९ हजार रुपैयाँ र स्वास्थ्य क्षेत्रमा १ करोड १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। विद्यालयको गुणस्तर सुधार, शिक्षक क्षमता विकास, छात्रवृत्ति, शैक्षिक सामग्री सहयोग तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा बजेट केन्द्रित गरिनेछ।

संघीय विशेष अनुदानअन्तर्गत भच्चेक आधारभूत अस्पतालको स्तरोन्नति तथा प्रविधिमैत्री स्वास्थ्य सेवा सुदृढीकरणका लागि थप १ करोड ४० लाख रुपैयाँ छुटाइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि ३७ लाख रुपैयाँ, दलित तथा लक्षित वर्गको सशक्तीकरणका लागि २४ लाख रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्दै जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ६६ दशमलव ६३ प्रतिशत खर्च भएको जनाएको छ। चालुतर्फ ७१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ ५९ दशमलव ६९ प्रतिशत खर्च भएको छ।

क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ५३ दशमलव १४ प्रतिशत, सामाजिक विकासतर्फ ७१ दशमलव ५१ प्रतिशत, पूर्वाधार विकासतर्फ ६८ दशमलव ४५ प्रतिशत तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४५ दशमलव ४६ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पुँजीगत खर्च अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी वर्ष योजना कार्यान्वयनलाई समयमै सम्पन्न गर्ने, नियमित अनुगमन गर्ने र बजेट कार्यान्वयन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ।

संघ तथा प्रदेश सरकारको अनुदानमा उच्च निर्भरता, सीमित आन्तरिक राजस्व, बेरोजगारी, युवा जनशक्तिको वैदेशिक पलायन तथा विपद् जोखिमलाई गाउँपालिकाले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ