+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी गाउँपालिकाको ६२ करोडको बजेट : पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

सडक निर्माणलाई प्राथमिकता, चालु वर्षको बजेट कार्यान्वयन प्रगति ६८ प्रतिशत

पालिका लाइभ
२०८३ असार १३, शनिबार

गोरखा– गण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड २१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले असार १० गते बुधबार बसेको २०औँ गाउँसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।

‘कृषि, पशु, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास’लाई मुख्य प्राथमिकतामा राख्दै गाउँपालिकाले स्थानीय आवश्यकता, नागरिकका अपेक्षा र दिगो विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरेको जनाएको छ।

कुल बजेटको स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान २९ करोड ८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १३ करोड १९ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ८२ लाख २३ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ७५ लाख रुपैयाँ र विशेष अनुदान ९३ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ७८ लाख ६९ हजार रुपैयाँ र राजस्व बाँडफाँडतर्फ ९९ लाख १९ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। गाउँपालिकाको आन्तरिक आयबाट १ करोड ५ लाख ९५ हजार रुपैयाँ तथा चालु आर्थिक वर्षको नगद मौज्दातबाट २ करोड रुपैयाँ परिचालन गर्ने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४१ करोड २१ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २१ करोड रुपैयाँ छुट्याइएको छ। क्षेत्रगत बजेट विनियोजनमा पूर्वाधार विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ।

पूर्वाधारतर्फ कुल बजेटको ३४ दशमलव ३७ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ३१ दशमलव २५ प्रतिशत र सामाजिक विकासतर्फ १८ दशमलव ७५ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै आर्थिक विकासतर्फ ९ दशमलव ६९ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ दशमलव ७५ प्रतिशत र संस्थागत विकास तथा सुशासनतर्फ ३ दशमलव १२ प्रतिशत बजेट छुट्याइएको छ।

सामाजिक विकासअन्तर्गत शिक्षा, भाषा तथा साहित्य क्षेत्रका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार तथा अत्यावश्यक औषधिको नियमित उपलब्धताका लागि ३० लाख रुपैयाँ बजेट राखिएको छ।

कृषि क्षेत्रको विकासका लागि १ करोड २० लाख रुपैयाँ र पशु विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि, पशुपालन प्रवर्द्धन तथा स्थानीय आयआर्जनका गतिविधिलाई बजेटले प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ।

वडा तहका कार्यक्रम सञ्चालनका लागि ८ वटै वडाका लागि कुल ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा वडास्तरीय योजना कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइएको छ। संघीय सरकारको समपूरक अनुदानअन्तर्गत सिउरेनिटार–बेनीगाउँ–तोलक–दलभञ्ज्याङ सडक स्तरोन्नतिका लागि संघ र गाउँपालिकाको साझेदारीमा ७०/७० लाख रुपैयाँ गरी कुल १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी कुलबेसी–दलभञ्ज्याङ–कौदी–आमडाँडा–बतासे सडक स्तरोन्नतिका लागि संघ र गाउँपालिकाको साझेदारीमा १/१ करोड ५ लाख रुपैयाँ गरी कुल २ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

प्रदेश सरकारको समपूरक अनुदानअन्तर्गत गण्डकी गाउँपालिका–रातमाटे–मकैसिङ–बतासे सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा ६०/६० लाख रुपैयाँ गरी कुल १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

विशेष कार्यक्रमतर्फ अति सीमान्तकृत चेपाङ समुदाय लगायतका लागि बृहत् पोषण सुधार आयोजनामा संघीय विशेष अनुदानबाट ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारको विशेष अनुदानबाट कपडा बैंक स्थापना गर्न ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ भने महिला उद्यमशीलता विकास, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्न २० लाख रुपैयाँ छुट्याइएको छ।

यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्दै हालसम्म चालुतर्फ ७४ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ५९ प्रतिशत खर्च भएको जनाएको छ। गाउँपालिकाको समग्र वित्तीय प्रगति ६८ दशमलव १२ प्रतिशत रहेको छ।

गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेट सीमामा आएको परिवर्तन, सीमित स्रोतसाधन र बढ्दो जनअपेक्षाबीच पनि विकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ