गोरखा– आरुघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५९ करोड २६ लाख ५५ हजार ६ सय १७ रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ।
गाउँपालिकाले कृषि, उत्पादनमूलक रोजगारी वृद्धि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।
‘समुन्नत, खुसी र सुखी आरुघाट गाउँपालिकावासी’ बनाउने लक्ष्यसहित तयार गरिएको बजेट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले गाउँसभामा प्रस्तुत गरेकी हुन्। बजेट निर्माणका क्रममा नेपालको संविधान, आरुघाट गाउँपालिकाको आवधिक योजना, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतलाई आधार बनाइएको उल्लेख गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा खाद्य सुरक्षा, निःशुल्क तथा अनिवार्य शिक्षा, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण, दिगो पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, उद्यमशीलता तथा रोजगारी सिर्जना, पर्यटन, खेलकुद र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको छ।
बजेटको आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिइएको छ। पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालनलगायत कृषि व्यवसायलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गर्न २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै पर्यटन, खेलकुद तथा संस्कृति प्रवर्द्धनका लागि ७० लाख रुपैयाँ छुटाइएको छ। गाउँपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र पर्यटन प्रवर्द्धनमा बजेट केन्द्रित गरिने उल्लेख गरिएको छ।
सामाजिक विकासतर्फ शिक्षाका लागि २ करोड ३० लाख रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधिको विस्तार र गुणस्तरीय शिक्षामा जोड दिइएको छ भने स्वास्थ्यतर्फ पोषण, खोप, स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
पूर्वाधार विकासतर्फ संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि २ करोड ३५ लाख रुपैयाँ र वडास्तरीय पूर्वाधार विकासका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन तथा वातावरण संरक्षणका लागि ६० लाख रुपैयाँ बजेट छुटाइएको छ।
गाउँपालिकाले सीमित स्रोत साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै सेवा प्रवाहलाई जनमुखी, जबाफदेही, पारदर्शी र सहभागितामूलक बनाउने लक्ष्य लिएको जनाएको छ। बजेट कार्यान्वयनबाट आरुघाट गाउँपालिकाको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया