+
Search

ताजा अपडेट +

पपुलर +

९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

कुन प्रदेशमा कति गाउँपालिकाको आएन बजेट ?

तस्बिर : गोरखाको गण्डकी गाउँपालिकाको २० औँ गाउँसभाको दोस्रो बैठक
पालिका लाइभ
२०८३ असार ११, बिहीबार

काठमाडौं– देशभरिका ४६० गाउँपालिकामध्ये ९७ प्रतिशत पालिकामा कानुनले तोकेको अवधि १० असार भित्रै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार ४४६ वटा गाउँपालिकाले १० असारभित्र गाउँसभामा बजेट पेश गरेका छन् । १४ वटा गाउँपालिकामा भने बजेट पेश हुन नसकेको महासंघको विवरणमा उल्लेख छ । १४ मध्ये ५ वटा गाउँपालिकामा नीति तथा कार्यक्रम पेश भएको तर बजेट पेश नभएको पाइएको छ ।

स्थानीय सरकारका दोस्रो कार्यकालका जनप्रतिनिधिको यो पाँचौँ अर्थात् अन्तिम नीति तथा कार्यक्रम र बजेट हो ।

१० असारभित्र बजेट पेश गर्न नसक्नुका कारणमा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ भएको, अध्यक्षको परिवारका सदस्य बिरामी हुँदा जिल्ला बाहिर रहेको जस्ता कारण देखाइएको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको, बजेट निर्माणमा सहमति नजुटेको समेत कारण देखिएको महासंघले जनाएको छ ।

१० असारमा पेश गर्न नसकेका गाउँपालिकाले केही दिनमै बजेट ल्याउने बताएको महासंघको भनाइ छ । १५ जेठमा संघीय सरकारले बजेट ल्याउनुपर्ने प्रावधान छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनले प्रदेशको बजेट १ असार र स्थानीय सरकारहरूको बजेट १० असार भित्र सम्बन्धित सभामा पेश गर्नुपर्ने भनी तोकेको छ । सो अनुसार समयमै बजेट ल्याउन नसकेमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट हुने कार्य सम्पादन मूल्यांकन मापनमा असर पर्छ ।

कुन प्रदेशमा कति गाउँपालिकाको आएन बजेट ?

महासंघका अनुसार कोशी प्रदेशमा ८८ गाउँपालिका रहेकोमा ३ वटा गाउँपालिकाले बजेट ल्याउन सकेनन् । मधेशमा ५९ गाउँपालिकामध्ये ३ वटाको बजेट आएन । बागमतीका ७३ गाउँपालिकामध्ये १ वटामा बजेट सार्वजनिक नभएको देखिएको छ । गण्डकीमा ५८ गाउँपालिका रहेकोमा सबै गाउँपालिकामा बजेट आएको छ ।

लुम्बिनीमा ७३ गाउँपालिका रहेकोमा ३ वटाले समयमै बजेट ल्याउन सकेनन् ।

सुदूरपश्चिम र कर्णालीका ५४/५४ गाउँपालिकामध्ये २/२ वटा गाउँपालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ