काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगकाअनुसार भारतीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सरकारी सेवामा प्रवेश गरेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा उनले २०५५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएको भनी सिनं ०२५२४३१एम उल्लेख गरिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको जनाइएको छ।
अख्तियारका अनुसार उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक र उत्प्रेरक संयोजक पदमा काम गर्दै राष्ट्रसेवकको हैसियतमा विभिन्न सुविधा लिएका थिए।
यसरी झुट्टा प्रमाणपत्र प्रयोग गरी पद प्राप्त गरी गैरकानुनी लाभ लिएको पुष्टि भएपछि भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ उपदफा १ बमोजिम कैद तथा जरिवाना सजाय माग गर्दै काठमाडौं स्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया