+
Search

ताजा अपडेट +

पपुलर +

नवलपरासी मेरो घर हो, यहीँ उद्योग खुल्छ, रोजगारी सिर्जना हुन्छ : विनोद चौधरी

पालिका लाइभ
२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै विद्रोह गर्नु निकै चुनौतीको अवस्था रहेको बताएका छन्।

चुनाव प्रचार प्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोणसभाका क्रममा विगत ३० वर्षको अवधिमा ३६ वटा सरकार बने पनि अस्थिर सरकारले जनतालाई न्याय दिन नसकेको उनले बताएका हुन्।

उनले अस्थिर सरकारका कारण नागरिकको निराशा जेन्जी आन्दोलनमा परिणत भएको बताए। लाखौँ युवा बिदेसिनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउँदै उनले देशमै लघु उद्यमको विकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए।

‘हरेक युवालाई सपना देख्ने अधिकार छ। स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ। त्यो वातावरण हामीले बनाउँछौँ बदलिएको कांग्रेसले बनाउँछ,’ उनले भने।

देशमा देखिएका विद्यमान सबै समस्याको हल गर्नका लागि नै कांग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनको भनाइ थियो।

पछिल्लो समय आफ्ना बारे समाजमा भ्रम छर्ने र नकारात्मक हल्लाहरू फिँजाएर विचलित पार्ने प्रयासहरू भइरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफूसँग जोडिन सक्ने, प्रश्न गर्न सक्ने वातावरण आफूले बनाएको चौधरीले बताए।

मतदाताहरूलाई नकारात्मक हल्लाको पछाडि नलाग्न समेत उनले आग्रह गरेका छन्।

केराको चिप्स उद्योगको विषयलाई लिएर राजनीति रूपमा रोटी सेक्न खोजिएको बताउँदै उनले निकट भविष्यमै उद्योग स्थापना हुने बताए।

‘जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छु। विदेशमा समेत उद्योग कलकारखाना खोल्ने उद्योगीले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ रोजगारी दिन्छ ढुक्क हुनुस्,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ