काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिएका छन् ।
भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखे ।
भट्टराईसहितको टोलीले पीडितहरूलाई सहानुभूति प्रकट गर्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
सो क्रममा विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिइएको थियो ।
‘हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन,’ उनले भने, ‘तपाईंहरूले आफ्नो विवरण र प्रमाणहरू पेश गर्नुस्, कानुनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौं ।’
पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् ।
बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युत्का मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ ।
यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ‘सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे ।
प्रतिक्रिया