+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह निर्वाचन लक्षित गर्दै रास्वपा, उम्मेदवार आह्वान सुरु गर्ने तयारी

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख १७, बिहीबार

काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत र व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारेको छ।

वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय उम्मेदवार छनोट समिति गठन गरेको थियो। सो समितिले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ मार्फत इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने तयारी गरेको छ।

समितिका संयोजक आचार्यका अनुसार उम्मेदवार छनोट मापदण्ड तयार पार्ने क्रममा पार्टीका सबै तह र संरचनासँग व्यापक परामर्श भइरहेको छ। सातै प्रदेशका सभापतिसँग छलफल गरी प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए। यसका लागि सम्बन्धित तहलाई वैशाख १८ गतेसम्म सुझाव पठाउन समय दिइएको छ।

पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग, विभिन्न विभाग, केन्द्रीय समिति, संसदीय दल तथा सल्लाहकार परिषद्सँग समेत निरन्तर छलफल भइरहेको छ। साथै सामाजिक सञ्जालमार्फत सर्वसाधारण र शुभेच्छुकबाट पनि सुझाव संकलन गरिने जनाइएको छ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा अपनाइएको उम्मेदवार छनोट मापदण्डलाई आधार मानेर आवश्यक संशोधनसहित नयाँ रूपरेखा तयार गरिने आचार्यले बताए। उनका अनुसार ‘क्यान्डिडेट क्लब’मा सहभागी हुन इच्छुक पार्टी सदस्यहरूले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइनेछ।

आचार्यले यसपटक गैरदलीय उम्मेदवार छनोट नगर्ने स्पष्ट पार्दै पार्टी विधान र वर्तमान संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइने बताए। ‘बाचापत्रमा गैरदलीय विषयमा छलफल गर्ने उल्लेख भए पनि हालको अवस्थामा संविधानको परिधिभित्र रहेरै काम गर्छौं,’ उनले भने।

स्थानीय तह निर्वाचनमा देशभर ७५३ पालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। स्थानीय सरकार प्रत्यक्ष रूपमा नागरिकसँग जोडिने भएकाले योग्य, सक्षम, अनुभवी र लोकप्रिय उम्मेदवार छनोट गर्न पार्टीले विशेष ध्यान दिने जनाएको छ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता तथा प्रारम्भिक निर्वाचन प्रणालीलाई समेट्दै परिमार्जित मापदण्ड लागू गर्ने तयारी गरेको छ। अघिल्ला निर्वाचनमा आंशिक रूपमा प्रयोगमा आएको यो प्रणालीलाई यसपटक पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ