गुल्मी– मुसिकोट नगरपालिकाको प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शुक्रबार नगरप्रमुख जीवन खरेलले नक्सा प्रिन्ट गर्दै सेवाको शुभारम्भ गरेका हुन्।
सेवा सञ्चालनसँगै अब मुसिकोट नगरपालिकाका नागरिकले नापी तथा भूमि प्रशासनसम्बन्धी अधिकांश सेवाका लागि मजुवा वा तम्घास धाउनुपर्ने बाध्यता कम हुने भएको छ।
नगरपालिकाका अनुसार जग्गा नापजाँच, नक्सा, स्रेस्ता तथा भूमि प्रशासनसँग सम्बन्धित विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो।
सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख खरेलले गुल्मी जिल्लामै पहिलो पटक नगरपालिकाबाट यस्तो सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए। उनले सेवा सुरु भएसँगै नगरवासीलाई सहज र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।
हाल आंशिक रूपमा सेवा सञ्चालनमा आए पनि निकट भविष्यमै पूर्ण रूपमा सेवा विस्तार गरिने नगरप्रमुख खरेलले जानकारी दिए।
नगरपालिकाले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया