काठमाडौं– सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय तथा देशभरका स्थानीय तहलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको असार २६ गतेको पत्रका आधारमा असार ३२ गते निर्णय गर्दै कार्यालय समयमा नेपाल सरकारले निर्धारण गरेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो।
परिपत्रमा कर्मचारीको अनुशासन कायम गर्ने, सार्वजनिक सेवाप्रतिको विश्वास अभिवृद्धि गर्ने तथा सेवाग्राहीलाई कर्मचारीको सहज पहिचान गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको उल्लेख छ।
मन्त्रालयले सबै सार्वजनिक निकायलाई कर्मचारीले तोकिएको पोसाक र परिचयपत्रको अनिवार्य पालना सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, उक्त व्यवस्थाको कार्यान्वयनबारे राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने र अनुगमनको विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने पनि परिपत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया