काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको पछिल्लो छलफलमा सरकारका केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे समीक्षा भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बालेनले अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अर्थतन्त्रमा अपेक्षित सुधार ल्याउन नसकेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढी निर्भरता बढाएको तथा सेयर बजारप्रति सरकारको नीतिले सकारात्मक सन्देश दिन नसकेको विषयमा उनले चासो व्यक्त गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त गरिएको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट थिए। नियुक्ति प्रक्रियाले स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) अवस्था सिर्जना गरेको भन्दै प्रधानमन्त्री पक्षबाट प्रश्न उठाइएको स्रोतले दाबी छ।
यस्तै, सभापति लामिछानेले पनि केही मन्त्रीको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार उनले स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल र कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे समीक्षा आवश्यक रहेको धारणा राखेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीको भूमिकाबारे प्रश्न उठाएपछि लामिछानेले पनि बालेन निकट मानिएका केही मन्त्रीको कार्यसम्पादनबारे प्रश्न उठाएका थिए। संस्थापन पक्षले भने प्रधानमन्त्रीबाट मन्त्रालयका कामकारबाहीमा अनावश्यक हस्तक्षेप भइरहेको गुनासो गरेको स्रोतको दाबी छ।
प्रधानमन्त्रीले असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गरेका थिए। उक्त बैठकमा अर्थमन्त्री वाग्ले सहभागी नभएको र त्यसपछि देखिएको असहजता कम गर्न सभापति लामिछानेले सहजीकरणको प्रयास गरेको स्रोतले जनाएको छ।
छलफलका क्रममा कार्यसम्पादनका आधारमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ। यद्यपि, प्रधानमन्त्रीको सचिवालयले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको जनाएको छ।
प्रतिक्रिया