काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई नेपालको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्कीले अब सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। मुख्यसचिवले संघीय सरकारका मन्त्रालय तथा निकायबीच समन्वय गर्ने, मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने तथा प्रशासनिक सुधारका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य
मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ।
उपत्यकाको योजनाबद्ध विकास, पूर्वाधार विस्तार र सहरी व्यवस्थापनसँग सम्बन्धित कामको नेतृत्व विकास आयुक्तले गर्ने गर्छन्।
सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। यस निर्णयसँगै गेटा अस्पताललाई स्वास्थ्य शिक्षा र चिकित्सा सेवासँग जोडेर सञ्चालन गर्ने बाटो खुलेको छ।
चार वटा नियमावली स्वीकृत
मन्त्रिपरिषद् बैठकले विभिन्न नियमावली तथा रणनीतिक दस्तावेज स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ स्वीकृत गरेको छ।
त्यस्तै, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ।
बैठकले कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ भने मानव अधिकारसम्बन्धी छैटौँ कार्ययोजना पनि पारित गरेको छ।
मन्त्रिपरिषद्ले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ।
सरकारले यस योजनामार्फत भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि र सार्वजनिक प्रशासनमा सुशासन कायम गर्ने लक्ष्य राखेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय
२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान
३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत
४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत
५.कारागार नियमावली: ’कारागार नियमावली, २०८३’ स्वीकृत
६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत
७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने
प्रतिक्रिया