+
Search

ताजा अपडेट +

पपुलर +

बालेन सरकार असफल भयो, अवसान मात्रै बाँकी छ- हर्क साम्पाङ

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख १४, सोमबार

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन नेतृत्वको सरकार असफल भइसकेको टिप्पणी गरेका छन् ।

उनले गरिबको गाँस खोस्ने र वासस्थान भत्काउने सरकारलाई असफल सरकारको संज्ञा दिँदै अब त्यसको अवसान मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन् ।

साम्पाङले गरिबमाथि हुने दमन र अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै पत्रकार वा सामाजिक सञ्जालमार्फत गरिब र उनीहरूको पक्षमा बोल्नेलाई गाली गरेर यस्तो कार्यको समर्थन गर्न नसकिने स्पष्ट पारे ।

उनले ठुलो भ्रष्टाचार गरेर महलमा आरामसँग बस्नेहरूलाई चुनौती दिँदै गरिबलाई सहज रूपमा बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

उनले गरिबलाई दबाउन हजारौँ प्रहरी र सेना परिचालन गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताउँदै चुनावका बेला मत माग्नेहरू अहिले जनताको पीडा देखेर मौन बसेको आरोप लगाए । उनले भनेका छन्- ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरू अब चुपचाप सामान बोकी टाप दिन पर्दाको बिजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन ! गरिबको दुःख नदेख्ने आँखा ! गरिबको घाउमा मलहम लगाउन नसक्ने हात र गरिबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन ! सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु !’

साम्पाङले गरिबको दुःख नदेख्ने आँखा, घाउमा मलहम लगाउन नसक्ने हात र पीडा बोल्न नसक्ने ओठको कुनै अर्थ नरहेको उल्लेख गर्दै सरकारको कडा विरोध गर्न सबैलाई आह्वान गरेका छन् ।

उनले नेता महलमा बस्ने र जनता सडकमा बस्नुपर्ने अवस्था किन आएको भन्दै सम्पूर्ण नेपालीसमक्ष गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ