+
Search

ताजा अपडेट +

पपुलर +

पुरानाकै कमजोरीले लोकप्रियतावादी उदाए : वर्षमान पुन

पालिका लाइभ
२०८३ बैशाख १३, आईतवार

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा लोकप्रियतावादीहरूको उदय भएको बताएका छन् ।

१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा गरेको अर्न्तक्रियामा पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा रास्वपाको जन्मभएको बताएका हुन् । यो यथार्थ स्वीकार्न हिच्किचाउन नहुने उनको भनाइ छ ।

पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे जनमत फर्कने सम्भावना नरहेको पनि उनले बताए ।

‘अरु साथीहरू ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा र्छौं । बिनाकारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरूको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ,’ उनले भने, ‘विद्यालय र विश्वविद्यालयमा विद्यार्थी संगठन, उद्योग प्रतिष्ठानमा मजदुर संगठन, सरकारी निकायमा कर्मचारी संगठन र शैक्षिक संस्थामा शिक्षक संगठनको परिचालनमा हामी कहाँ चुक्यौं ? नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा किन जनता खुसी हुने अवस्था आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरूले र नेताहरूले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।’

विश्वभर नै उदार लोकतन्त्रको असफलतापछि नवउदारवादी व्यवस्था उदाएको र नवउदारवादसँगै लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै पूर्वअर्थमन्त्री पुनले त्यसैको बाछिटा नेपाली राजनीतिमा परेको दाबी गरे । लोकप्रियतावादी शक्तिले जनमतबाट आएर शासन गर्ने प्रवृत्ति संसारभर नै रहेको बताए ।

‘अमेरिकामा ह्वाइट ‘सुप्रिमेसी’ का रूपमा, छिमेकमा धार्मिक लोकप्रियतावादका रूपमा । कतै रंग, कतै वर्ग, कतै धार्मिक र कतै जातीवाद र बहुसंख्यकवादका रूपमा लोकप्रियतावाद प्रकट भएको छ,’ पुनले भने, ‘बहुमतले जे गर्दा पनि हुन्छ । विपक्षी आवाजलाई निमोठ्ने, नसुन्ने र प्रतिशोधपूर्ण व्यवहार गर्ने रूपमा लोकप्रियतावादले टाउको उठाउन खोजेको देखिन्छ ।’

पुनले कतिपय राजनीतिक एजेण्डा फरक भए पनि वर्तमान व्यवस्था, संविधान, लोकतन्त्रका पक्षमा रहेका वाम–लोकतान्त्रिक पार्टीहरूबीच एकता र सहकार्यको खाँचो रहेको औंल्याए ।

‘हामीहरूबीच कतिपय विषयमा राजनीतिक मतभेदहरू होलान् । तर, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, संधिवान, श्रमिकहरू, किसान र कर्मचारी सबैका आधारभूत अधिकारका विषयमा वाम–लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिनुपर्छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ