+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री गुरुङको पद ढिलो चाँडो जान्छ: महेश बस्नेत

पालिका लाइभ
२०८३ बैशाख ८, मंगलवार

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले ढिलो चाँडो गृहमन्त्री सुधन गुरुङको पद जाने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिने बताउँदै मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदा तिरको काण्डसंग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ । यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदा तिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ । यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ ।’

नेता बस्नेतले दीपक भट्टको नाम विगतमा केपी शर्मा ओली, प्रचण्ड र देउवासँग जोडेर बदनाम गरिएको भन्दै अहिले प्रधानमन्त्री बालेन निकट गृहमन्त्री गुरुङ र कार्की आयोगका सदस्य रहेका विज्ञान राज शर्माको समेत भट्ट जोडिएका कम्पनीमा शेयर रहेको खुलेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्:

व्यवसायी दीपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए। तर अनुसन्धान गर्दै जाँदा उहाँहरू सँग सम्बन्धित कसैको कनेक्सन देखिएन दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुधन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य विज्ञान राज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ । दीपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ