काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे प्रष्टीकरण दिएका छन्।
बिहीबार संघीय संसद् सचिवालयको प्रांगणमा सञ्चारकर्मीले सोधका प्रश्नको उत्तरमा गृहमन्त्री गुरुङले प्रष्टीकरण दिएका हुन्। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरण हजुरबुवाकै भएको जिकिर गरे।
‘अहिले आएको विवरण अनुसारको सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको हो,’ गृहमन्त्री गुरुङले भने। उनले सम्पत्तिका विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरे।
गत चैत २९ मा सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। त्यसमा गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको उल्लेख छ।
त्यस्तै, उनीसँग नगद मौज्दात ६१ लाखभन्दा बढी देखिएको छ। लक्ष्मी बैंकमा पाँच लाख ३५ हजार चार सय, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ मौज्दात छ। लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ बराबरको गाडी रहेको छ।
यसैगरी, आफ्नो नाममा धनकुटाको कार्कीछापमा-५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको खुलाइएको छ।
गृहमन्त्री गुरुङसँग चार करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर रहेको छ। सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख) र लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार कित्ता (खरिद मूल्य ५७ लाख) रहेको छ।
त्यस्तै, धितोपत्र बजारमा कारोबार हुने शेयरहरू दुई करोड ७४ लाख ५६ हजार दुई सय रुपैयाँ बराबरको र एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार कित्ता (खरिद मूल्य ७० लाख) रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङले सम्पत्ति विवरणमा दाबी गरेका थिए।
प्रतिक्रिया