काठमाडौं– सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित पदाधिकारीले आफ्नो सम्पत्ति विवरण तोकिएको निकायसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार सरकारले विवरण सार्वजनिक गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो कार्यकालमा यस्तो विवरण सार्वजनिक गरेको थिएन।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी र हिरालगायतका गरगहनामा रहेको उल्लेख छ, जसको स्रोत पैतृक भनिएको छ। शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको छ भने महोत्तरीमा ९ बिघा जग्गा उनका पिता रामनारायण शाहको नाममा रहेको उल्लेख गरिएको छ। साथै विभिन्न बैंकमा करिब १ करोड ४६ लाख रुपैयाँ नगद रहेको र सो आम्दानी फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालबाट आएको विवरणमा जनाइएको छ। उनले आफ्ना सामाजिक सञ्जालका फलोअर संख्या समेत विवरणमा समावेश गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चार वटा घर तथा अपार्टमेन्ट र करिब १ करोड ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको देखिएको छ। ललितपुर, काभ्रे र तनहुँमा उनका घर तथा अपार्टमेन्ट रहेको उल्लेख छ। उनले आफ्नो आम्दानीको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी सम्पत्ति बिक्री, बैंक ऋण र व्यक्तिगत सापटी रहेको बताएका छन्। साथै करिब साढे चार करोड बराबरको सेयर लगानी रहेको पनि उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालको नाममा काठमाडौंको टोखामा घर रहेको छ भने तनहुँ, नवलपुर र बाँकेमा समेत जग्गा रहेको विवरणमा उल्लेख छ। उनीसँग २२ तोला सुन, २५ तोला चाँदी र करिब १० लाख रुपैयाँ नगद रहेको छ। बैंक ऋणमार्फत ४० लाख रुपैयाँमा गाडी खरिद गरेको पनि उनले उल्लेख गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ, जसमध्ये २३ करोड ४१ लाख २७ हजार रुपैयाँ खुद सम्पत्ति हो भने ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा जनाइएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन, ५० तोला चाँदी, चार आना पैतृक जग्गा, करिब ७९ लाख रुपैयाँ नगद र १ करोड ४५ लाखभन्दा बढी सेयर लगानी रहेको उल्लेख छ। उनीसँग दुई वटा गाडी र एक स्कुटर समेत रहेको छ, जसको कुल मूल्य करिब ३० लाख ७१ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ। साथै करिब ३ लाख रुपैयाँ बराबरका घडी पनि रहेको उल्लेख छ।
गृहमन्त्री सुदन गुरुङको बैंकमा ६१ लाख ३५ हजार रुपैयाँ नगद र चार करोडभन्दा बढीको सेयर लगानी रहेको छ। विभिन्न कम्पनीहरूमा सेयर लगानीका साथै धितोपत्र बजारमा करिब २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर रहेको उनले उल्लेख गरेका छन्। पैतृक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ भने धनकुटा, चितवन र गोरखामा जग्गा रहेको विवरणमा जनाइएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंकमा १० लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ। उनले गाडी खरिदका लागि विभिन्न बैंकबाट ऋण लिएको उल्लेख गर्दै त्यसको आंशिक भुक्तानी गरिसकेको जनाएकी छन्। उनीसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको छ भने उनका श्रीमानले पनि ऋण लिएर गाडी खरिद गरेको विवरणमा उल्लेख छ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको ३० रोपनी पैतृक जग्गासहित ११ कट्ठा २५ धुर अतिरिक्त जमिन रहेको छ। उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र करिब ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा जग्गा रहेको छ, जसको स्रोत श्रीमानको आय भनिएको छ। उनीसँग २५ तोला सुन, २४ लाखभन्दा बढी बैंक बचत, २० लाख रुपैयाँ ऋण र करिब ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको विवरणमा उल्लेख छ।
कृषि तथा पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीसँग सीमित चल–अचल सम्पत्ति रहेको विवरणमा देखिन्छ। उनीसँग ५ तोला सुन, १०० तोला चाँदी, विभिन्न बैंकमा करिब १ लाख २६ हजार रुपैयाँ नगद, एउटा स्कुटर र केही घरेलु सम्पत्तिका रूपमा बाख्रा तथा कुखुरा रहेको उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो विवरणमा २० कुखुरा र एउटा कुकुर समेत उल्लेख गरेकी छन्। उनीसँग स्कुटर, ल्यापटप, मोबाइल, करिब ५० हजार नगद र बैंकमा करिब १५ लाख रुपैयाँ मौज्दात रहेको छ। साथै १८ तोला सुन र १५ तोला चाँदी तथा सुर्खेतमा सानो क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ।
स्वास्थ्य मन्त्री निशा मेहताको नाममा ३० तोला सुन, ५० तोला चाँदी, काठमाडौंमा ७ आना जग्गा, विभिन्न बैंकमा रकम र करिब २५ लाख मूल्यको गाडी रहेको छ।
उद्योग, वाणिज्य मन्त्री गौरीकुमारी यादवको काठमाडौं र महोत्तरीमा जग्गा रहेको छ भने १८० तोला सुन र २ किलो चाँदी रहेको उल्लेख गरिएको छ। श्रममन्त्री रामजी यादवको राजविराजमा जग्गा रहेको छ र उनीसँग ८० तोला सुन तथा १५० तोला चाँदी रहेको विवरणमा उल्लेख छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलसँग ११ तोला सुन, ५ तोला चाँदी, विभिन्न स्थानमा जग्गा, करिब २५ लाख नगद र १ करोड ४० लाख रुपैयाँ ऋण रहेको छ। उनले एक जिप र दुई स्कुटर खरिद गरेको पनि विवरणमा जनाएका छन्।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाको नागार्जुनमा जग्गा रहेको छ भने उनीसँग ५ तोला सुन, १० तोला चाँदी, करिब १० लाख २५ हजार नगद र २३ लाख रुपैयाँ मूल्यको गाडी रहेको विवरणमा उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक गरेको यो विवरणले मन्त्रीहरूको सम्पत्ति, आम्दानीको स्रोत र आर्थिक अवस्थाबारे सार्वजनिक जानकारी प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रतिक्रिया