काठमाडौं– काठमाडौं उपत्यकाभित्र लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीहरूको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ।
पाँच वर्षभन्दा बढी समयदेखि एउटै अड्डामा कार्यरत ४ हजार ४ सय ७५ कर्मचारीको विवरण संकलन भई प्रधानमन्त्री कार्यालयमा पुगेको हो ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि मन्त्रालय तथा विभिन्न निकायहरूले यस्तो विवरण संकलन गरी पठाएका हुन्। प्राप्त विवरणअनुसार सिंहदरबारभित्र मात्रै दुई वर्षभन्दा बढी समयदेखि एउटै अड्डामा कार्यरत १ हजार ९ सय ३५ कर्मचारी रहेको तथ्य खुलेको छ।
प्रधानमन्त्री कार्यालयले यसअघि मन्त्रालय र निकायसँग दरबन्दीको अवस्था, करारमा कार्यरत कर्मचारीको संख्या, लामो समयदेखि एउटै स्थानमा जमेका कर्मचारी तथा प्रशासनिक संरचनासम्बन्धी विवरण माग गरेको थियो। सोही निर्देशनअनुसार सम्बन्धित निकायहरूले हतारमा तथ्यांक संकलन गरी पठाएका हुन्।
स्रोतका अनुसार कर्मचारी व्यवस्थापनमा देखिएको असन्तुलन, एउटै स्थानमा लामो समय बस्ने प्रवृत्ति र करार कर्मचारीको बढ्दो संख्या नियन्त्रण गर्न यस्तो विवरण संकलन गरिएको हो। विशेषगरी उपत्यकाभित्र वर्षौँदेखि सरुवा नहुँदै बसेका कर्मचारीको अवस्थाबारे सरकार गम्भीर देखिएको छ।
प्राप्त विवरणको अध्ययनपछि कर्मचारी व्यवस्थापन, सरुवा प्रणाली तथा प्रशासनिक संरचनामा सुधारका लागि सरकारबाट थप नीतिगत निर्णय आउन सक्ने चर्चा प्रशासनिक वृत्तमा सुरु भएको छ।
सिंहदरबारभित्रै ठुलो संख्यामा कर्मचारी लामो समयदेखि कार्यरत रहेको तथ्य बाहिरिएपछि आगामी दिनमा सरुवा र व्यवस्थापन प्रक्रियामा कडाइ हुने संकेत देखिएको छ।
प्रतिक्रिया