सिरहा– आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।
यसैबीच कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेका थिए।
कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
प्रतिक्रिया