काठमाडौं– बहुराष्ट्रिय कम्पनी काल्सबर्गका नेपाल साझेदार तथा उद्योगी राजबहादुर शाह सेयर बजारमा देखिएको ठूलो अनियमितता प्रकरणमा मुछिएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको अध्ययनले शाहले व्यवसायी दीपक भट्टसँग मिलेर बजारमा शंकास्पद कारोबार गरेको निष्कर्ष निकालेको हाे।
बोर्डले तयार पारेको प्रतिवेदनअनुसार शाहलाई दुई वर्षसम्म कैद सजाय हुनेगरी सिफारिस गरिएको छ। उनीमाथि धितोपत्र बजारलाई प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार गर्ने आरोप लगाइएको छ।
शाह नेपालका ठूला मदिरा व्यवसायीमध्ये एक हुन्।
राज्यलाई उच्च आयकर तिर्ने व्यवसायीका रूपमा चिनिने उनी हाल काल्सबर्गसँग आबद्ध गोर्खा ब्रुअरीका सञ्चालक समितिका अध्यक्षसमेत छन्। गोर्खा ब्रुअरीले राज ब्रुअरी अधिग्रहण गरेपछि उनी काल्सबर्ग समूहसँग जोडिएका हुन्। सुरुवातमा ८ प्रतिशत रहेको उनको सेयर स्वामित्व पछि १५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको थियो।
धितोपत्र बोर्डको अध्ययनअनुसार शाहले ठूलो परिमाणमा उधारो कारोबार गरेको पाइएको छ। उनले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ रूपैँया भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएको छ।
उक्त रकम २०८२ साउन २१ गतेदेखि बाँकी रहेको देखिएको छ।
शाहले अग्रिम रकम जम्मा नगरी सेयर खरिदका लागि कारोबार सीमा लिएको र पूर्ण भुक्तानी नगरे पनि सेयर आफ्नो खातामा राखिएको पाइएको छ। यसरी गरिएको कारोबारले बजारमा कृत्रिम मूल्य वृद्धि गराउन सहयोग पुगेको र लगानीकर्तालाई भ्रममा पार्ने काम भएको निष्कर्ष निकालिएको छ।
उनीले २०८२ असार २३ गतेदेखि साउन ४ गतेसम्म नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता सेयर १ अर्ब ४१ करोड ८० लाख रुपैयाँभन्दा बढीमा खरिद गरेका थिए। तर सो रकममध्ये ५२ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरिएको र बाँकी रकम अझै तिर्न बाँकी रहेको पाइएको छ।
त्यसैगरी, शाहले हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजारभन्दा बढी कित्ता सेयर करिब १६ करोड ५६ लाख रुपैयाँमा खरिद गरेका छन्। साथै, शुभी अग्रवालको नाममा रहेको ३ लाखभन्दा बढी कित्ता सेयर करिब ४० करोड ७३ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ।
अध्ययनअनुसार शाहले दीपक भट्टकै शैलीमा अग्रिम रकम नदिई कारोबार सीमा प्रयोग गरेर सेयर खरिद गरेका थिए। पूर्ण भुक्तानी नगरे पनि सेयर खातामा राखिएको अवस्थाले बजारमा अस्वाभाविक माग सिर्जना गरी मूल्य बढाउन सहयोग पुगेको बताइएको छ।
धितोपत्र बोर्डले शाहले भृकुटी स्टक ब्रोकिङसँग मिलेर सेयरको मूल्य कृत्रिम रूपमा बढाएको ठहर गरेको छ। यसरी उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ अन्तर्गत कसूर गरेको निष्कर्ष निकालिएको छ।
उक्त ऐनको दफा ९६ अनुसार बजारलाई प्रभावित पार्ने कार्यमा संलग्न भएमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। त्यस्तै, दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ। साथै, पीडितलाई भएको नोक्सानीसमेत भराउनुपर्ने कानुनी प्रावधान रहेको छ।।
प्रतिक्रिया