काठमाडौं– एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा स्थिर र मजबुत वित्तीय प्रदर्शन गरेको छ।
बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा ५ अर्ब कटाउँदै आफ्ना लगानीकर्ताहरूका लागि निकै आकर्षक लाभांश क्षमता प्रस्तुत गरेको हो।
विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा बढाउँदै ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो, जुन यस वर्ष ४.७५ प्रतिशतले वृद्धि भएको हो।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि वृद्धि भई ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा अघिल्लो वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
बैंकको वित्तीय विवरणको सबैभन्दा बलियो र सकारात्मक पक्ष भनेको बैंकको लाभांश वितरण क्षमता हो। नियमनकारी समायोजनपछिको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ। यसमा अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजन गर्दा बैंकसँग लाभांश बाँड्न मिल्ने कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
यस सञ्चितिका आधारमा बैंकको प्रतिसेयर लाभांश क्षमता ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ। यसले एभरेष्ट बैंकलाई आफ्ना सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिन सक्ने अग्रणी बैंकको रूपमा उभ्याएको छ।
समीक्षा अवधिमा बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैमा राम्रो वृद्धि हासिल गरेको छ। ग्राहकहरूबाट सङ्कलित निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। अझ उत्साहजनक कुरा, बैंकले ग्राहकहरूलाई प्रवाह गर्ने कर्जा १०.३७ प्रतिशतले बढाउँदै २ खर्ब ३५ अर्ब रुपैयाँ पुर्याएको छ।
कर्जा विस्तारमा देखिएको यो दोहोरो अंकको वृद्धिले बैंकको व्यावसायिक आक्रामकतालाई देखाउँछ। व्यवसाय विस्तारसँगै बैंकको कुल सम्पत्तिको आकार ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। चुक्ता पुँजी बढेका कारण प्रतिसेयर आम्दानीमा सामान्य दबाब परेको भए पनि बैंकको जगेडा कोष निकै बलियो छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
प्रतिक्रिया