रौतहट– नेपाल–भारत सीमामा तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीभित्र सार्वजनिक भएको एक अडियोले संगठनमा हलचल मच्चाएको छ। बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक व्यक्तिबीच भएको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेको हो।
घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनीमा तानेर छानबिन अघि बढाइएको छ। साथै प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर विष्टलाई सरुवा गरिएको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार उनको स्थानमा सशस्त्र प्रहरी नम्बर ७ वैद्यनाथ बाहिनी, कैलालीबाट डीएसपी दुर्गा प्रसाईँ भट्टलाई खटाइएको छ।
यद्यपि सार्वजनिक भएको अडिओको आधिकारिक प्रामाणिकता अहिलेसम्म पुष्टि भएको छैन। त्यसैले अडिओको फरेन्सिक परीक्षण गरी निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने माग स्थानीय तह र सामाजिक सञ्जालमा उठिरहेको छ।
याे पनि,
तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा
यसबीच छिन्नमस्ता बाहिनीका प्रवक्ता एसएसपी सुभाष भण्डारीको नेतृत्वमा पुगेको टोलीले बीओपी सरमुजवा क्षेत्रमा स्थानीय जनप्रतिनिधि, व्यापारी तथा सर्वसाधारणसँग इन्स्पेक्टर बोहराको कार्यसम्पादनबारे जानकारी संकलन गरेको छ। केही स्थानीयले घरायसी प्रयोजनका सामानमा कडाइ गरिए पनि संगठित तस्करीप्रति प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो गरेका छन्। सामाजिक सञ्जालमा केही आरोपहरू पनि सार्वजनिक भए तापनि ती दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले संगठनभित्र आचरणविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै अनुसन्धानबाट दोषी ठहर हुने जोसुकैमाथि पनि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले ४ करोड ५ लाख १९ हजार रुपैयाँ र नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका छन्।
संवेदनशील मानिने रौतहट–भारत सीमामा बेला–बेला यस्ता घटना सार्वजनिक हुँदै आएका छन्। पछिल्लो घटनाले सीमा सुरक्षा, तस्करी नियन्त्रण र सुरक्षा निकायको जबाफदेहिताबारे पुनः प्रश्न उठाएको छ। सार्वजनिक अडिओको वास्तविकता भने फरेन्सिक परीक्षण र जारी अनुसन्धानको निष्कर्षपछि मात्रै स्पष्ट हुने देखिन्छ।
प्रतिक्रिया