+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कार्यालयले भन्यो- हिंसाबाट विवाद समाधान हुँदैन, सामाजिक सद्भाव नबिगारौं

पालिका लाइभ
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं– सुनसरीको देवानगञ्जमा हालै भएको घटना र त्यसपश्चात् पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिलाई लिएर सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका सम्बन्धमा सरकारले चालेका कदम र भावी योजनाबारे जानकारी दिएको हो ।

साउन १० गते देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका व्यक्तिप्रति सरकारले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै, घटनामा घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले एक छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिलाई घटनाको गहिरो अध्ययन गरी आगामी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन चालिनुपर्ने कदमहरूबारे पनि सुझाव दिनेछ।

सरकारले घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषी देखिएका व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतः विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाली समाजले सदीयौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन प्रधानमन्त्री कार्यालयले सबै पक्षलाई आग्रह गरेको छ। उत्तेजना फैलाउने वा भ्रामक सूचना सम्प्रेषण नगर्न र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सरकारले हार्दिक अपिल गरेको छ।

मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायलाई एकजुट हुन सरकारले आह्वान गरेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा सामाजिक सद्भाव नै मुलुकको शक्ति भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ