+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका कुरा:

पथरीशनिश्चरेमा राजस्व संकलनमै चलखेल, सेवाग्राहीले तिरेको रकम गायब

पालिका लाइभ
२०८३ श्रावण १२, मंगलवार

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० मा सिफारिस तथा विभिन्न प्रमाणपत्रबापत संकलन गरिएको राजस्व रकम कार्यालय सहयोगी रिना थापाले हिनामिना गरेको पाइएको छ।

सेवाग्राहीले विश्वासका साथ बुझाएको राजस्व रकम सरकारी खातामा जम्मा हुनुको सट्टा गायब भएपछि सरकारी कार्यालय र कर्मचारीप्रतिको जनविश्वासमाथि प्रश्न उठेको छ। वडाबाट राजस्व उठाउने जिम्मेवारी पाएकी थापाले सेवाग्राहीलाई सिफारिस तथा प्रमाणपत्र उपलब्ध गराउने तर त्यसबापत बुझाएको रकम सरकारी राजस्वमा दाखिला नगरी आफैँ राख्ने गरेको प्रमाण फेला परेको हो।

सेवाग्राहीबाट रकम उठाएर ‘सर्भर चलेको छैन’ भन्दै रसिद नदिने र पछि उक्त रकम सरकारी अभिलेखमा नै नरहेको भेटिएपछि राजस्वमा अनियमितता भएको खुलेको हो। यसमा कार्यालय सहयोगी मात्र नभई रसिद नहेरी हस्ताक्षर गर्ने वडाध्यक्ष र कार्यालय सहयोगीलाई राजस्व उठाउने जिम्मेवारी दिने राजस्व शाखाको भूमिकामाथि पनि प्रश्न उठेको छ।

कार्यालय सहयोगीका रूपमा नियुक्त थापालाई २०८२ माघ २९ गते वडाध्यक्ष जीवन खतिवडा र सचिव ललिता लिम्बूले राजस्व प्रणालीको ओटीपी प्रयोग गर्न पाउने व्यवस्था मिलाइदिन नगरपालिकाको राजस्व शाखामा पत्राचार गरेका थिए। कार्यालय सहयोगीलाई राजस्व उठाउने अधिकार दिनु नै नियमविपरीत देखिएको छ। यस्तै, उठेको राजस्व रकम सातासम्म सरकारी खातामा जम्मा नगरेको प्रमाणसमेत भेटिएको छ।

सेवाग्राहीले बुझाएको रकम नगरपालिकाको पञ्जीकरण तथा राजस्व शाखामा जाँच गर्दा अभिलेखमा ठूलो फरक देखिएको छ। राजस्व शाखामा रकम नभेटिएपछि शाखा प्रमुख तारा ढकालले राजस्व संकलनको जिम्मेवारी पाएका कर्मचारीको कमजोरी भएको प्रतिक्रिया दिए ।

वडा नं. १० मा २०८१ सालदेखि संकलन भएको राजस्वको केही रकम सरकारी खातामा नपुगेको सेवाग्राहीको दाबी छ। आरोपबारे कार्यालय सहयोगी थापाले भने नियतवश यस्तो काम नगरेको दाबी गर्दै ‘सूत्र’ सफ्टवेयरमा समस्या आउँदा त्रुटि भएको हुन सक्ने बताइन्। आफू कार्यालय सहयोगी भए पनि वडाको जिम्मेवारीअनुसार राजस्वको काम गर्दै आएको उनको भनाइ छ।

वडाध्यक्ष खतिवडाले कर्मचारी अभावका कारण उक्त जिम्मेवारी दिइएको स्वीकार गर्दै सेवाग्राहीका गुनासा सत्य भए आवश्यक छानबिन गरी कारबाही गरिने बताए। नगर प्रमुख मोहन तुम्बापोले पनि कानुनविपरीत राजस्व हिनामिना भएको पुष्टि भए कानुनअनुसार कारबाही हुने बताए। सेवाग्राहीबाट उजुरी आएपछि छानबिन गरी वास्तविकता बाहिर ल्याइने उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ