+
Search

ताजा अपडेट +

पपुलर +

सर्वदलीय बैठकमा प्रचण्डले गरे सरकारको आलोचना, समाधान खोज्न नसकेको आरोप

पालिका लाइभ
२०८३ श्रावण १३, बुधबार

काठमाडौं– सिंहदरबारमा जारी सर्वदलीय बैठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी सर्वदलीय बैठकमा उनले सुनसरीमा भएको हिंसाले सरकारप्रति गम्भीर प्रश्न उठेको बताए।

सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्‌भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ। विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ बैठकमा प्रचण्डले भने, ‘तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ।’

जारी सर्वदलीय बैठकमा प्रचण्डको भनाइ जस्ताको तस्तै

सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्‌भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ। विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ।

आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ। आज रास्वपा सभापति रवि लामिछानेजीले बैठक राख्नुभएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु। यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ।

संसद्‌भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन। बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ। हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्‌भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ।

घटनास्थलमा स्थानीय व्यक्ति मात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ। यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो।

सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्‌भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ। यही नै अहिलेको राष्ट्रिय आवश्यकता हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ