+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या छैन, बजारका हल्ला मात्रै हुन् : अर्थमन्त्री वाग्ले

पालिका लाइभ
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक एजेन्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।

केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित थिए । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरू प्रकाशित भएपछि उनले मंगलबार मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुटहरू फैलाइन्छ । यो सब कुराहरू पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’

आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि बताए । प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको उनले बताए ।

‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरूसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भा’छ- अर्थमन्त्री देखिएन भन्ने छ,’ उनले भने, ‘यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ‘नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफैँ पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ ।’

मुलुकका आर्थिक मुद्दाहरूमा प्रधानमन्त्री शाहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरूको पछाडि नलाग्न आग्रह पनि गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ