+
Search

ताजा अपडेट +

पपुलर +

सर्वदलीय बैठकमा गगन थापाले सोधे- यतिखेर सरकार के गर्दैछ, कहाँ छ ?

पालिका लाइभ
२०८३ श्रावण १३, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गरेका हुन् ।

उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकामा धन्यवाद दिए ।

थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरूलाई विश्वास गर्नुपर्छ ।’

‘यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो,’ उनले भने, ‘विगतका विपत्तिमा पनि राजनीतिक दलहरू तिक्तता त्यागेर एक भएका थिए ।’

उनले यसलाई राज्यको असफलताको परिणाम भएको बताए । सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने उनले बताए । उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?’ प्रधानमन्त्रीले यस्तो बेला सकारात्मक हिसाबले काम गर्नु पर्ने सन्देश सभापतिमार्फत पुर्‍याउन भनिएको थापाले बताए ।

उनले कांग्रेस पार्टीका जनप्रतिनिधि, नेताहरूलाई पनि बैठक राखेर समस्या समाधान प्रयत्न गर्न भनिएको बताए । उनले सुनसरीलगायतका प्रभावित जिल्लाहरूमा पनि यस्ता घटना नहुन दिन कांग्रेसको भूमिका निभाउन आग्रह गरिएको बताए ।

सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ