+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

पालिका लाइभ
२०८३ श्रावण ११, सोमबार

काठमाडौं– नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ। योजनाअन्तर्गत नगरपालिकाले प्रतिकर्मचारी मासिक दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीले पनि सोही बराबरको रकम योगदान गर्नेछन्। यसरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ।

सम्झौताअनुसार योजनामा सहभागी कर्मचारीले कोषको नियमअनुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्। पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएमा नियमानुसार पति वा पत्नीले सुविधा पाउनेछन्। दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी तथा व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ।

कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान रकम जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ