+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिस्पर्धा नै नगराई लाखौँको खरिद

भीमसेनमा खरिद प्रक्रियामै बेथिति : एउटै प्रकृतिका काम टुक्र्याएर लाखौँ खर्च?

फरक योजनाका नाममा गरिएका खरिदले प्रतिस्पर्धात्मक प्रक्रिया र सार्वजनिक रकमको मितव्ययी उपयोगमाथि प्रश्न उठाएको छ।

पालिका लाइभ
२०८३ श्रावण ९, शनिबार

गोरखा– भीमसेन थापा गाउँपालिकाले एउटै प्रकृतिका सामग्री तथा उपकरण विभिन्न योजनाका नाममा छुट्टाछुट्टै खरिद गरी लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाको यस्तो खरिद प्रक्रियामाथि प्रश्न उठाएको हो।

महालेखाको प्रतिवेदनअनुसार गाउँपालिकाले सिद्धकाली परिसर बगैँचा निर्माणका लागि तारजाली खरिदमा ८८ हजार ८१९ रुपैयाँ र बालुवाटार खानेपानी योजनाका लागि १३६ थान पानी मिटर खरिदमा १ लाख ४९ हजार ८३८ रुपैयाँ खर्च गरेको छ। दुवै खरिदका लागि १ लाख ५० हजार रुपैयाँका दरले लागत अनुमान कायम गरिएको थियो।

फरक योजनाका नाममा गरिएका यी खरिदलाई महालेखाले खरिद व्यवस्थापनको दृष्टिले प्रश्न उठाएको छ। आर्थिक वर्षभरि समान प्रकृतिका सामग्री तथा उपकरणको आवश्यकता पहिचान गरी समग्र खरिद योजना बनाउनुपर्नेमा योजनाअनुसार छुट्टाछुट्टै खरिद गर्दा प्रतिस्पर्धात्मक खरिद प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठ्न सक्ने देखिन्छ।

याे पनि,

भीमसेनथापा गाउँपालिकामा अझै ७ करोड बेरुजु, महालेखाले फेरि दोहोर्‍यायो एउटै प्रश्न

सार्वजनिक खरिदमा समान प्रकृतिका वस्तु तथा सेवाको आवश्यकता पहिचान गरी प्रतिस्पर्धात्मक विधिबाट खरिद गर्नुपर्ने हुन्छ। तर खरिदलाई योजनाअनुसार टुक्र्याउँदा प्रतिस्पर्धा सीमित हुन सक्ने र सार्वजनिक रकमको मितव्ययी उपयोगमा असर पर्न सक्ने जोखिम रहन्छ।

गाउँपालिकाको खरिद व्यवस्थापनमा देखिएको कैफियत निर्माण सामग्रीमा मात्र सीमित छैन। महालेखाले औषधि खरिद तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा समेत प्रश्न उठाएको छ। सार्वजनिक रकमबाट खरिद गरिएका औषधि तथा स्वास्थ्य सामग्रीको आवश्यकता, मौज्दात र उपयोग व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा महालेखाले जोड दिएको छ।

याे पनि,

खरिद योजना नै नबनाई करोडौंको योजना, महालेखाले औँल्यायो भीमसेनथापाको कमजोरी

यसैगरी, विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा भएका खर्च र भुक्तानीमा समेत महालेखाले कैफियत औँल्याएको छ। योजना कार्यान्वयन, खर्च र भुक्तानी प्रक्रियामा देखिएका कमजोरीले गाउँपालिकाको वित्तीय व्यवस्थापनमाथि प्रश्न उठाएको हो।

महालेखाको प्रतिवेदनले गाउँपालिकाको बेरुजु फर्छ्योटको अवस्थालाई समेत प्रश्नको घेरामा राखेको छ। असुलउपर, नियमित गर्नुपर्ने तथा पेश्कीसम्बन्धी बेरुजु समयमै फर्छ्योट गर्नुपर्ने भए पनि बाँकी बेरुजुले वित्तीय अनुशासन र जबाफदेहितामाथि प्रश्न उठाएको छ।

महालेखाको प्रतिवेदनमा उल्लेखित विवरणले भीमसेनमा खरिद प्रक्रिया र त्यसको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। विशेषगरी समान प्रकृतिका सामग्री तथा उपकरणलाई विभिन्न योजनाका नाममा छुट्टाछुट्टै खरिद गर्नुको कारण, आर्थिक वर्षभरि भएका समान प्रकृतिका खरिदको कुल विवरण र अपनाइएको खरिद विधिबारे स्पष्टता आवश्यक देखिन्छ।

याे पनि,

असारमै सकियो आधाभन्दा बढी विकास बजेट, भीमसेनथापामा वर्षभर योजना किन सुस्त?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ