काठमाडौं– लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि सञ्चालन गरेको ‘द गोल इज ग्रिन’ अभियान कार्यान्वयन गर्न डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
बैंकले फिफा विश्वकप २०२६ का प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने घोषणा गरेको थियो। प्रतियोगिताभर ३३३ गोल भएपछि सोहीअनुसार ३३३ वटा बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्न बैंकले डब्लुडब्लुएफ नेपालसँग सहकार्य गरेको जनाएको छ।
सहकार्यअनुसार डब्लुडब्लुएफ नेपालले अभियान कार्यान्वयनका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षणसम्बन्धी आफ्नो अनुभवका आधारमा डब्लुडब्लुएफ नेपालले बैंकलाई काम्दी सामुदायिक वन समन्वय समितिसँग जोडेको जनाएको छ।
समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने तथा तिनको संरक्षण र व्यवस्थापन गर्नेछ। डब्लुडब्लुएफ नेपालले भने बिरुवाको प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान र पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन गर्ने जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता रहेको उल्लेख गर्दै ‘द गोल इज ग्रिन’ अभियानमार्फत खेलकुद र वातावरण संरक्षणलाई जोड्ने प्रयास गरिएको बताए। उनका अनुसार विश्वकपमा भएका प्रत्येक गोल बराबर बिरुवा रोपेर दीर्घकालीन वातावरणीय योगदान गर्ने लक्ष्य राखिएको छ।
डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङले वन पुनः स्थापना केवल रूख रोप्ने कार्यमा सीमित नहुने भन्दै उपयुक्त स्थानमा रैथाने प्रजातिका बिरुवा रोप्नु र स्थानीय समुदायसँगको सहकार्य नै दीर्घकालीन संरक्षणको आधार हुने बताए।
काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग पुनः स्थापना तथा समुदायमा आधारित वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
बैंकका अनुसार ‘द गोल इज ग्रिन’ अभियानले खेलकुद, समुदाय र वातावरण संरक्षणलाई जोड्दै निजी क्षेत्रको सहभागितामार्फत नेपालको हरित भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
प्रतिक्रिया