सिरहा– गोलबजार नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा कागजमा योजना सम्पन्न देखाएर भुक्तानी प्रक्रिया अघि बढाइएको तथ्य सार्वजनिक भएको छ। वडा नं. २ गुरुधामस्थित वडा कार्यालय अगाडि निर्माण भइरहेको १० लाख रुपैयाँको ढलान योजना साउनमा मात्रै सुरु भए पनि असारमै योजना सम्पन्न भएको कागजात तयार गरी रकम निकासा प्रक्रिया अघि बढाइएको आरोप लागेको हो।
स्थानीयका अनुसार नगरस्तरीय उक्त योजना आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, योजना साउन १३ गतेबाट मात्रै निर्माण सुरु भएको छ। यसअघि नै योजना सम्पन्न भएको देखाउँदै आवश्यक कागजात तयार गरी भुक्तानी प्रक्रिया अघि बढाइएको उनीहरूको दाबी छ।
बोलपत्रमार्फत सञ्चालन भएका योजनामा आवश्यक परे सम्झौता अवधि थप गर्न सकिने कानुनी व्यवस्था छ। तर, कोटेसनमार्फत सञ्चालन गरिएका योजनामा सम्झौताको म्याद थप गर्न नमिल्ने व्यवस्था रहेकाले असारमै भुक्तानी प्रक्रिया अघि बढाएर साउनमा काम सुरु गर्नु कानुनविपरीत भएको उनीहरूको भनाइ छ।
स्थानीय राजकुमार महतो भन्छन्, ‘यो ठाडो भ्रष्टाचारको नमुना हो। गोलबजारका जनप्रतिनिधि र कर्मचारीहरूले उपभोक्ता समितिसँग हुने कमिसनको झन्झटबाट बच्न करोडौँ रुपैयाँका योजना कोटेसनमार्फत बाँडेका छन्। अहिले भइरहेको काममा सूचना पाटीसमेत राखिएको छैन, जसले योजना लुकाएर रकम हिनामिना गर्ने नियत देखाउँछ।’
निर्माणस्थलमा योजना सम्बन्धी सार्वजनिक सूचना पाटी नराखिएको स्थानीयको गुनासो छ। लागत, निर्माण कम्पनी, कार्यअवधि तथा जिम्मेवार निकायबारे जानकारी नहुँदा पारदर्शितामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ। नगरपालिकाकै एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘उपभोक्ता समिति गठन नगरी गोलबजारकै गुन्जा कन्स्ट्रक्सनका ठेकेदार विजय साहमार्फत कोटेसनमा काम गराइएको हो। काम सम्पन्न नभई सम्पन्न भएको सिफारिस गरेर भुक्तानी प्रक्रिया अघि बढाइएको छ।’
स्रोतका अनुसार केही दिनअघि नगरपालिकाप्रति सार्वजनिक असन्तुष्टि जनाएका वडा नं. २ का वडाध्यक्ष शुकदेव (सुख्खा) सिंहलाई खुसी पार्न नगर प्रमुख श्याम श्रेष्ठले आर्थिक वर्षको अन्तिम समयमा उक्त योजना दिएका थिए। त्यसपछि ठेकेदारसँग आर्थिक बार्गेनिङ भएको र काम नगरी नै कार्य सम्पन्नको सिफारिस गरी रकम निकासा गरिएको स्थानीयको आरोप छ।
वडाध्यक्षको स्वीकारोक्ति
वडाध्यक्ष शुकदेव सिंहले योजना गत आर्थिक वर्षकै भएको स्वीकार गरे। उनले भने, ‘यो १० लाख रुपैयाँको नगरस्तरीय योजना हो। असारमा काम गराउन सकिएन। त्यसैले अहिले कोटेसनमार्फत विजय साहलाई ठेक्का दिएर काम गराइरहेका छौँ।’ रकम निकासाबारे सोध्दा उनले भने, ‘रकम निकासा भएको छ, तर रोक्का गरिएको छ। काम सम्पन्न भएपछि मात्रै भुक्तानी हुने व्यवस्था गरिएको हो।’
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलसँग सम्पर्क गर्दा उनले ‘प्राविधिक शाखासँग बुझेर जानकारी दिन्छु’ भनेका थिए। तर केहीबेरपछि उनको कार्यालयको मोबाइल बन्द भयो र त्यसपछि सम्पर्क हुन सकेन।
प्रतिक्रिया