काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको पाइएको जिकिरसहित आयोगले चौधरी र सोही कार्यमा संलग्न तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध विशेष अदालत, काठमाडौँमा बिहीबार आरोप पत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि निकालिएको पेस्की रकम घुसका रूपमा प्रयोग भएको पाइएको अख्तियारको भनाइ छ ।
कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका तत्कालीन एमआईएस अपरेटर सुरेश कहारले ६ लाख रुपैयाँ पेस्की लिएका थिए। उक्त रकम खातामा आउनासाथ उनले ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका लागि पेस्की लिए पनि कुनै काम नगरी आपसमा मिलोमतो गरी घुस/रिसवतका रूपमा उक्त रकम लेनदेन गरेको देखाएको आयोगले जिकिर गरेको छ। चौधरीको बैंक खातामा जम्मा भएको उक्त ५ लाख रुपैयाँ कहारले कार्यालय सहयोगीको नाममा चेक काटी जम्मा गरेको भेटिएको थियो।
अख्तियारले दुवै प्रतिवादीलाई जनही ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ। साथै, घुसबापत लिएको ५ लाख रुपैयाँ जफत गर्न समेत आयोगले माग गरेको छ ।
प्रतिक्रिया