काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको विरोध गरेका छन्।
बिहीबार संसद् बैठकमा आफ्ना धारणा राख्दै प्रचण्डले प्रतिपक्षीसँग संवाद गरेर काम गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिए।
‘विपक्षी दलका अनुभवी नेताहरूलाई बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई केले रोकेको छ,’ प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले स्थितिलाई असहज बनाएको छ भने प्रधानमन्त्रीले रोस्टममा उभिएर जबाफ दिनुपर्छ। त्यो लोकतान्त्रिक परम्परा हो। यसलाई भाँच्ने, उल्ट्याउने कोसिस नगरियोस्। म प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु।’
उनले संसद्मा स्पष्टीकरण दिँदा सानो नहोइने भन्दै बालेनलाई संवादमा आउन आग्रह गरे।
‘त्यसरी संवाद गर्दा तपाईँको कद घट्दैन, बरु कद अझ माथि जान्छ। प्रतिपक्षीसँग संवाद गर्दा कद सानो हुँदैन, बढेर जान्छ,’ उनले भने, यसलाई बुढापाकाको राम्रा कुरा ठान्नुहुन्छ भने ठान्नुस्। कुरा सुन्नु बुढाको, आगो ताप्नु बुढाको भन्ने उखान पनि छ। यो हजारौँ वर्षको अनुभवले ल्याएको ठान्नु हुन्छ भने मान्नुस्।’
उनले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर प्रधानमन्त्रीले संवाद नगर्ने अहंकार देखाउँदै जाने र आफूमात्रै पर्याप्त हो भन्ने ठानेको हो भने त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी पनि दिए।
‘यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजीवी र विज्ञहरूको विशाल पंक्ति छ। ठूला ठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै भोगेको नेताहरूको पंक्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला? मलाई अनौठो लाग्छ।’
प्रचण्डले आफैँलाई बोलाएर पनि बालेनले संवाद गरे हुने बताए।
‘उहाँले मलाई बोलाएर तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, के ले तपाईंलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। त्यसको निम्ति के ले रोक्यो उहाँलाई? आफ्नै अहंकारले रोकेको हो कि? म पर्याप्त छु, मलाई केही चाहिँदैन भन्ने लागेको हो कि? यदि त्यो हो भने दुर्भाग्यपूर्ण हुनेछ।’
प्रतिक्रिया