काठमाडौं– शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेस : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको आलोकनगरमा सम्पन्न भएको छ। कार्यक्रममा मधेस आन्दोलनका उपलब्धि, राजनीतिक प्रभाव र वर्तमान चुनौतीबारे समीक्षा गरिएको थियो।
प्रतिष्ठानकी अध्यक्ष तथा मधेस आन्दोलनका शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले मधेस आन्दोलनले नेपालको राजनीतिक संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याएको भए पनि आन्दोलनका मूल उद्देश्य अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको धारणा राखे।
उनीहरूले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा मधेसी समुदायका अधिकार सुनिश्चित गर्ने विषयमा केही प्रगति भए पनि कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसकेको बताए।
कार्यक्रममा पछिल्लो समय मधेसमा देखिएको राजनीतिक विभाजन, नेतृत्व संकट, सामाजिक ध्रुवीकरण र युवामा बढ्दो निराशाबारे पनि छलफल भएको थियो। सहभागीहरूले मधेसको भविष्य सुनिश्चित गर्न साझा दृष्टिकोण, स्पष्ट नीति र सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए।
वक्ताहरूले शिक्षा, रोजगारी, सुशासन, आर्थिक सशक्तीकरण, सामाजिक एकता तथा युवाको सक्रिय सहभागितालाई मधेसको समग्र विकासका आधारका रूपमा औँल्याए। विभिन्न जिल्लाबाट आएका सामाजिक अभियन्ता, युवा, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिले साझा मुद्दामा सहकार्य र निरन्तर संवादलाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष चौधरीले शहीदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, न्याय र अधिकारको सपना अझै अधुरो रहेको बताइन्।
उनले शहीदहरूको योगदानलाई सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया