काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको छ । भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरीले गए राति विभिन्न स्थानबाट यी गाडीहरू नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएका अधिकांश गाडीहरू बीवाईडी कम्पनीका रहेका छन् । जुन कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता भट्टले गाडी नियन्त्रणमा लिएको पुष्टि गर्दै भने, ‘गएराती नियन्त्रणमा लिएका अधिकांश गाडी बीवाईडी कम्पनीका रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

कोरोला नाका हुँदै गैरकानुनी रूपमा गाडीहरू ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले विशेष अपरेसन चलाएको थियो । जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती गाडीहरू नियन्त्रणमा लिइएका हो ।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलका चार वटा युनिटहरू परिचालन गरिएका थिए । जसमा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म नं २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्की रहेका थिए ।
यसका साथै नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत थप २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीका प्रवक्ता भट्टले जानकारी दिए ।
राजस्व अनुसन्धान विभाग र अर्थ मन्त्रालयले गाडीको आयात अनुमति, एलसी प्रक्रिया र भन्सार विन्दुमा बुझाइएको मूल्यांकनको कागजातमाथि छानबिन अगाडि बढाउने भएको छ ।
उक्त गाडी आगामी आर्थिक वर्षको बजेट अगाडी नै भन्सार पास गरिएको पाइएको छ । सरकारको बजेट भाषणअघि नै करको दरको सूचना ‘लीक’ गराएर सयौं ईभीको ‘नक्कली’ जाँचपास गराउने कार्यमा बिवाइडीकी मालिक यमुना श्रेष्ठलाई अर्थ मन्त्रालयबाटै सहयोग भएको आशंका छ ।
पछिल्लो समय बिवाइडीको किलोवाट घटाएर सरकारलाई करोडौं राजश्व घाटा पार्नेजस्ता अवैध गतिविधिमा श्रेष्ठले सरकारी संयन्त्रकै सहयोग लिने गरेको पाइएको छ ।
अर्थ मन्त्रालयले यस प्रकरणको छानवीन गर्न मन्त्रालयकै उपसचिवको नेतृत्वमा एक छानवीन समिति गठन गरेर काम थालिसकेको मन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया